Logo

प्रधानमन्त्री नहुँदा नेकपामा किन हतारो ?



काठमाडौं १३ माघ । : प्रधानमन्त्री विदेश रहेका बेला नेकपाले तीनवटा महत्वपूर्ण विषयमा निर्णय तथा छलफल गर्‍यो। संसद्बाट चिकित्सा शिक्षा विधेयक पारित, भेनेजुयलाको राजनीतिक संकटमा नेकपा अध्यक्ष पुष्पकमल दाहालको कडा वक्तव्य तथा तथा झम्सिखेलमा शीर्ष नेताको गोप्य बैठक तीन गतिविधि नेकपा भित्र देखियो।

प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोध, होहल्ला तथा घम्साघम्सीका बीच ‘चिकित्सा शिक्षा विधेयक’ प्रतिनिधिसभाबाट वहुमतले शुक्रबार पारित भयो। संसदीय प्रणालीमा वलजफ्ती पारित विधेयकको अर्काे नजिरमा यो विधेयक पनि पर्‍यो। विधेयक पारित गर्दा प्रतिपक्षीले रोस्टम घेराउ, नारावाजी र होहल्ला जारी राखे। सडकमा पनि विधेयकप्रति असहमति प्रकट भइरहेकै थियो।

विधयेक आफूसँग भएको सहमति विपरितका प्रावधान समेटेर ल्याइएको भन्दै डा.गोविन्द केसी अनशनमा छन्। प्रधानमन्त्री केपी ओली देश बाहिर थिए। प्रधानमन्त्री शनिबार बिहान स्वदेश फर्कंदै थिए।

प्रधानमन्त्रीलाई २० घण्टा पनि नकुरी हतारमा सत्तापक्षले विधेयक किन पारित गर्‍यो ? नेकपाका केन्द्रीय सदस्य तथा पूर्वस्वस्थ्यमन्त्री खगराज अधिकारील अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्री देशभित्र–बाहिर जहाँ भएपनि यो विधेयकमा गर्ने के हो र ? उहाँ भए पनि, नभए पनि संसद्को प्रक्रिया अन्तर्गत पारित हुने विषय हो विधेयक, त्यही अनुसार पारित भयो।’

सत्तापक्षका सांसदहरूले प्रक्रियागत रूपमा विधेयक पारित भएको बताए पनि प्रधानमन्त्री आफू विदेश जाने बेला नै विधेयक पारित गर्न निर्देशन दिएकाले सत्तापक्षले हतारो देखाएको कांग्रेस नेता मीनेन्द्र रिजाल जिकिर गर्छन्।

‘प्रधानमन्त्रीले विदेश जानु अघि विधेयक आफू नआउँदै पारित गर्न भनेर ‘भगवान’ ले जसरी निर्देशन दिनुभएको थियो, त्यही आदेशलाई सत्तापक्षका नेताले शिरोधार्य गरे’, कांग्रेस नेता रिजालले भने।

६ माघमा विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन स्वीजरल्याण्डको डावोस जानुअघि विमानस्थलमा प्रधानमन्त्रीले सभामुख कृष्णबहादुर महरासँग चिकित्सा विधेयक कहिले पारित हुन्छ भनी जिज्ञासा राखेका थिए। सभामुखले ‘अबको बैठकबाट’ पारित हुने जवाफ दिएका थिए। महरामा पनि विधेयक पारित गर्ने त्यही हतारोमा थिए। यो अवस्था उनको विधेयक पारित गर्दा लरवरिएको बोलीले पनि प्रस्ष्टै देखाउँथ्यो।

सत्तापक्षका नेताहरूकै भनाइलाई मान्ने हो भने चिकित्सा विधेयक संसद्मा सबैभन्दा बढी छलफल भएको मध्येको एक हो। चिकित्सा शिक्षा सुधारको माग राखी पटक–पटक अनशनरत डा.केसीलाई समेतलाई संसद्को विषयगत समितिमा बोलाएर विधेयकका बारेमा छलफल गरिएको थियो।

तर केसी अघिल्लो पटकको अनशनमा आफूसँग भएको सहमति विपरितका प्रावधान समेटेर विधेयक ल्याइएको भन्दै पुनः अनशनमा बसिरहेका छन्।

पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले भने, ‘अरु विधेयक र यो विधेयकमा फरक के छ ? अरु विधेयक संसद्मा आएपछि सरसर्ती छलफल हुँदै पारित भएका छन्। तर यो विधेयक मात्र यस्तो हो जुन लामो समयसम्म संसद्मै छलफलमै रहिरह्यो।’ सांसद अधिकारीले भने, ‘यो कसरी हतारो गरेको भन्न मिल्यो ? ’

प्रधानमन्त्री ओलीले स्वदेश फर्केलगत्तै अन्तर्राष्ट्रिय विमानस्थलमा यो विषयमा कसैले पनि धेरै चिन्ता लिइरहनु नपर्ने बताए। ‘तीन करोड मान्छे भएका यत्रो देशमा केही मानिसमा असन्तुष्टिहरू अलिअलि हुन सक्छन्, केही चित्त नबुझेको हुन सक्छ। यस्तै कुरामा हामीले किन अब उधुम मच्चाउनु। लोकतन्त्रमा पक्ष–विपक्ष, अलिकति मत मतान्तर जस्ता कुरा साधारण हुन्।’

भेनेजुएलामा नेकपा वक्तव्य

भेनेजुएलामा निर्वाचित राष्ट्रपति निकोलस मादुरोविरुद्ध जुआन गुआइडोले अन्तरिम कार्यवाहक राष्ट्रपति घोषणा गरे। त्यसलाई अमेरिकाले तत्कालै मान्यता दियो। भेनुजुयलाका विषयमा विभिन्न राष्ट्रबाट प्रतिक्रिया आइरहेका छन्। त्यहाँको गहिरिँदो राजनीतिक संकटबारे नेकपा अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार विज्ञप्ती प्रकाशित गरे। पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्रीको अनुपस्थितिमा दाहालले आफ्नो पार्टी नेकपा भेनेजुएलाका जनताका पक्षमा रहेको र विदेशी हस्तक्षेपविरुद्धमा रहेको भन्दै आलोचना गरे।

‘भेनेजुएलको आन्तरिक मामलामा अमेरिका र उसका सहयोगीबाट गरिएको हस्तक्षेपको नेकपा कडा निन्दा गर्दछ’, दाहालले भने, ‘अमेरिकाले भेनेजुएलका जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको छ। अमेरिकाले भेनेजुएलको सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौति दिएको कुरा निन्दनिय छ।’ अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot