माघ १५, काठमाण्डौ । नेपालले युइईविरुद्धको तीन एकदिवसीय श्रृंखला २–१ ले जितेपछि सबैमा उत्साह छाएको छ । पहिलो खेलमा पराजित भएपनि त्यसपछिका दुवै खेल जित्दै नेपालले श्रृंखला आफ्नो पोल्टामा पारेको थियो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले पछिल्लो समय विश्वमा नेपाललाई चिनाउने माध्यम नै खेलकूद भएको दावी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै विष्टले विश्वमा नेपाललाई चिनाउन सबैभन्दा बढि भूमिका क्रिकेट खेलको रहेको बताए ।
क्रिकेटबाहेक फुटबल, भलिबल, कराँते, ब्याडमिन्टन, कबड्डी, बडि विल्डिङ, आर्चरी लगायतका खेलहरुले पनि नेपाललाई चिनाउँदै गएको विष्टको जिकिर छ ।
“पछिल्लो समय खेलकूदले नेपालको गौरव बढाइरहेको छ ।” विष्टले भने ।
नेपाली क्रिकेटले पहिलोपटक अन्तराष्ट्रिय एक दिवसीय मान्यताप्राप्त सिरिज जित्नु ऐतिहासिक सफलता भएको विष्टले बताए ।
राज्यले अझै बढि ध्यान दिने हो भने धेरै ठूला सपना पूरा हुने विष्टले बताए ।
“खेलाडिको क्षमतामा कुनै कमी छैन । तर वातावरण अझै बनेको छैन । खेलकूदमै लागेर भविष्य सुनिश्चित हुँदैन कि भन्ने चिन्ता निमूल पार्नसक्नुपर्छ ।” उनले भने ।
अब नेपालमा खेलकूद विश्वविद्यालयको आवश्यकता रहेको पनि विष्टले बताए ।