Logo

रंगशाला निर्माणमा राजनीतिकरण र भ्रष्टाचार हुन दिन्न : रेणु दाहाल



रेणु दाहाल, मेयर, भरतपुर महानगरपालिका

चर्चित हास्य कलाकार धुर्मुस र सुन्तलीका नाममा खोलिएको ‘धुर्मुस सुन्तली फाउण्डेसन’ ले भरतपुर महानगरपालिकाले दिएको जग्गामा ३ अर्बको लागतमा अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको छ । भरतपुर महानगरपालिकाले कुनै ठूलो निर्माण कम्पनीलाई जस्तै महत्व दिएर धुर्मुस सुन्तली फाउन्डेसनसँग बुधबार रंगशाला निर्माणको औपचारिक सम्झौता नै गरिसकेको छ । यसै विषयमा केन्द्रित रहेर महानगरकी प्रमुख रेणु दाहालसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला भरतपुर महानगरपालिकाले आफैँ नबनाएर किन धुर्मुस सुन्तली फाउण्डेशलाई जिम्मा दिनुभयो ?
भरतपुर महानगरपालिका स्वयम् पनि संलग्न छ । महानगरकै नेतृत्वमा फाउण्डेसनले बनाउने हो ।

हाम्रो देशमा महानगरले गर्न नसकेको काम अब धुर्मुस सुन्तलीले गर्ने भए हैन ?
महानगरपालिकाले बनाउन नसक्ने होइन । केन्द्र सरकारदेखि स्थानीय तहसम्मको स्रोत साधन र बजेटले पनि बनाउन सकिन्थ्यो । हामीले सार्वजनिक निजी साझेदारीको प्रारुपअनुसार अगाडि बढ्न खोजेका हौँ । हामीले विकास निर्माणका काम तिब्रताका साथ अगाडि बढाउन खोजिरहेका छौँ । यसमा जनताको प्रत्यक्ष सहभागिता र लगानीबाट गर्दा छुट्टै महत्व हुन्छ । यसअर्थंमा फाउण्डेशनसँग सहकार्य गरिएको हो ।

तर पनि यो काम त सरकारले गर्नुपथ्र्यो नि । प्रचण्डजी चितवनबाट चुनाव जितेर आउनुभएको छ । तपाई त्यहाँको मेयर । ठूला ठूला परियोजना आफैँले बनाउनुपर्दैन ?
हो, यो राष्ट्रिय गौरवको आयोजना जस्तै हो । सरकारले गर्नुपथ्र्यो । प्रचण्डजस्तो शक्तिशाली नेता भएको जिल्ला, पूर्व प्रधानमन्त्री, सत्तारुढ दलको अध्यक्ष पनि हुनुहुन्छ । यति ठूलो आयोजना किन सरकारले गरेन भन्ने प्रश्न नउठेको होइन । तर हामीले धेरै काम गर्नुपर्ने छ । यसका लागि विभिन्न पक्षको सहयोगको आवश्यकता छ ।

रंगशाला निर्माणका लागि सरकारी निकायको भूमिका त केही पनि देखिएन । त्यति धेरै बजेट फाउण्डेशन आफैले व्यवस्था गर्ने भनिएको छ नि ?
रंगशाला निर्माणका विषयमा हामीले हिजो सम्झौता गर्यौँ । निर्माणमा भरतपुर महानगरपालिकाको नेतृत्वदायी भुमिका रहन्छ । रंगशाला निर्माण सकेर हस्तान्तरण नभएसम्म महानगरको निर्देशक समितिले हेर्छ । निर्माणका बेला पनि महानगरको प्रत्यक्ष भूमिका रहन्छ ।

धुर्मुस सुन्तली फाउण्डेशन र महानगरको सहकार्य कसरी हुन्छ त ?
निर्माण अवधिभर सम्पूर्ण व्यवस्थापनको काम फाउण्डेशनले गर्छ । त्यसको प्रत्यक्ष निगरानी, नियमन, अनुगमन र निर्देशन महानगरपालिकाले गर्छ ।

बजेटको व्यवस्थापनमा महानगरको भूमिका के हुन्छ ?
पैसा जुटाउने काममा महानगर र फाउण्डेशनले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा आव्हान गर्छ ।

भनेपछि महानगरको भूमिका प्रभावकारी नहुनेरैछ हैन ?
प्रत्यक्ष रुपमा महानगर वा सरकार सहभागि हुँदा सार्वजनिक खरिद ऐन प्रभावित हुन्छ । त्यसकारण हामी जोडिन मिल्दैन । बजेटमा हामी सहभागि हुनका लागि टेण्डर आव्हन गर्नुपर्ने हुन्छ । निर्माणको सम्पूर्ण व्यवस्थापन फाउण्डेशनले नै गर्छ ।

त्यसोभए सरकारले एउटा रंगशाला पनि निर्माण गर्न नसक्ने रहेछ हैन ?
सरकारले बनाउन नसक्ने भन्ने होइन । बनाउन सकिन्छ । सरकारले अरु थुप्रै काम सरकारले गरिरहेको छ । ठूला र गौरवका आयाजनाहरु सरकारले नै बनाइरहेको छ । सबै काम सरकारले मात्रै गर्न सक्छ भन्ने हुँदैन । सबै पक्षको उत्साहजनक सहभागिताको खाँचो छ । जनताको पनि सहभागिता र लगानीले नै आर्थिक क्रान्ति गर्न सक्छ ।

संघीय सरकारको सहयोग र समर्थन छ ?
छ । यो काममा सबैको सहयोग छ । रंगशाला भनेको साझा आवश्यकता र काम हो । समयको आवश्यकता र माग पनि हो ।

रंगशाला निर्माणमा राजनीतिकरण हुने हो कि ?
भरतपुर महानगरले राजनीतिकरण गर्न दिदैन । अहिलेसम्म यो महानगरमा अहिलेसम्म राजनीतिकरण भएको पनि छैन ।

साँढे तिन अर्वको योजना छ । भ्रष्टाचार पनि हुने हो कि ? कसरी रोक्नुहुन्छ ?
हुँदैन । निर्माणमा आर्थिक कारोबारको जिम्मेवारी फाउण्डेशनको हो । महानगरले निरन्तर अनुगमन गर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot