Logo

युएइविरुद्धको पहिलो टि–ट्वान्टीमा नेपाल पराजित, कसको प्रदर्शन कमजोर ? विस्तृतमा



माघ १७, काठमाण्डौ । युएइविरुद्धको तीन खेलको एकदिवसीय सिरिज आफ्नो पोल्टामा पार्न सफल नेपाल पहिलो टि ट्वान्टी खेलमा पराजित भएको छ ।

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईसँग नेपाल २१ रनले पराजित भएको हो ।

युएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर प्रदर्शन गर्दा खेलमा २१ रनले पराजित भयो । सातौँ विकेटका लागि सन्दिप जोरा र सोमपाक कामीले उत्कृष्ट प्रदर्शन गरे पनि समग्रमा नेपालको ब्याटिङ लाईन कमजोर देखियो ।

नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३२ रन मात्रै जोड्यो ।

विश्व क्रिकेट काउन्सिलको मान्यताप्राप्त अन्तराष्ट्रिय टि ट्वान्टीमा पराजित भएसँगै नेपाललाई धक्का लागेको छ ।

सन्दिप जोराको उत्कृष्ट व्याटिङका बाबजुत पनि नेपाल हार्न पुगेको हो । जोराले ४६ बलमा ५३ रन बनाएका थिए । तर उनको मिहिनेत खेर गयो ।

नेपालले लगातार विकेट गुमाएका बेला पाँचौं नम्बरमा ब्याटिङमा आएका जोराले ४२ बलमा अर्धशतक बनाएका हुन् । घरेलु फ्रेन्चाईज टी–२० मा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले यूएईविरुद्धको एक दिवसीय क्रिकेटमा पनि राम्रो प्रदर्शन गरेका थिए ।

त्यसैगरी जोरासँग उत्कृष्ट पार्टनरसिप गरेका कामीले पनि १९ बलमा २७ रन जोडे ।

कप्तान पारस खड्काले २५ बलबाट २५ रन जोडेर आउट भएपछि नेपाल संकटमा परेको थियो ।

ओपनिङ व्याट्सम्यान प्रदिप ऐरि पहिलो बलमा आउट भए भने अर्का व्याट्सम्यान तथा उपकप्तान ज्ञानेन्द्र मल्लले पनि १० बलबाट ७ रनमात्रै जोडेर आउट भए । त्यसैगरी दिपेन्द्रसिंह ऐरीले पनि २ बल खेलर चार रन मात्रै जोडे । राहुल पौडेलले पनि ४ रन मात्रै जोडे ।

करण केसीले पनि ४ रनभन्दा बढि योगदान गर्न सकेनन् । त्यसैगरी सन्दिप लामिछानेले २ रन मात्रै जोडे ।

युएइका नभिद, अहमेद र खानले २–२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको युएइलाई नेपाले १ सय ५३ रनमा रोकेको थियो । २० ओभरको खेलमा युएईले सम्मानजनक स्कोर बनाएपछि नेपाल दबाबमा परेको थियो ।

आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाएको हो ।

यूएईका लागि शाइमन अनवारले ३८ बलको सामना गर्दा चार चौका र दुई छक्काको मद्धतमा ५९ रन बनाए । मोहम्मद उस्मान ३० र सीपी रिजवान २२ रनमा आउट भए । त्यसैगरी मोहम्मद बुटाले २० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले दुई–दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र अभिनाश बोहोराले एक–एक विकेट लिए । करण केसी महंगो सावित भए । चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए ।



प्रतिक्रिया दिनुहोस्