भजनी, १८ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले अबका चार वर्षभित्र हुलाकी राजमार्गको सम्पूर्ण काम पूरा हुने बताउनुभएको छ ।
सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला टीकापुर महोत्सव–२०७५ को उद्घाटन गर्दै उहाँले आफू जन्मेदेखि नै हुलाकी राजमार्ग भन्ने सुने पनि अझै राजमार्गको काम पूरा हुन नसकेको बताउँदै अबका चार वर्षमा सबै काम पूरा हुने बताउनुभयो ।
“हुलाकी राजमार्गको काम चार वर्षमा पूरा हुन्छ, सेती लोकमार्ग पनि सङ्घीय सरकारले नै बनाउँछ ।” मन्त्री महासेठले भन्नुभयो, “सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना पूरा गर्नका लागि मन्त्रालयले चार वर्षमा चार हजारदेखि आठ हजार किलोमिटर सडक सञ्जाल विस्तार गर्ने र ७७ वटै जिल्लाको मुख्य क्षेत्रमा यातायातका साधन पु¥याउने योजनाअनुसार काम भइरहेको छ ।” उहाँले लम्की–टीकापुर–खक्रौला सडकखण्ड चार लेन निर्माणको लागि सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
महोत्सवको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशसभा सदस्य उमादेवी वादी, शैक्षिक अगुवाको रुपमा डा जगतबहादुरसिंह रावल, अन्तर्राष्ट्रिय खेल प्रशिक्षकको रुपमा अर्जुन ठकुल्ला, उत्कृष्ठ व्यवसायी बाबुराम चौधरी, कलाक्षेत्रमा भवानी रेग्मी र उत्कृष्ट कृषक रामबहादुर कुँवरलाई सम्मान गरिएको छ ।
यही माघ २८ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने उक्त महोत्सवमा कृषि प्रदर्शनी, रमाइलो मेला, विभिन्न व्यापारिक कक्षसमेत राखिएका छन् । (रासस)