Logo

संसदीय मूल्य मान्यता विपरित विधेयक पारित गरियो : देउवा



पोखरा, १८ माघ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गरिनु संसदीय मूल्य मान्यता विपरित भएको आरोप लगाउनुभएको छ ।

काङ्ग्रेसका अग्रज नेता प्रजातन्त्र सेनानी केशवराज रेग्मीको स्मृतिमा आज यहाँ आयोजित श्रद्धाञ्जलि सभामा उहाँले संसद्मा वार्ताका माध्यमबाट सहमति खोजिने प्रचलनलाई लत्याउँदै विधेयक पारित गरिएको आरोप लगाउनुभयो ।

लोकतान्त्रिक मूल्य मान्यतालाई काङ्ग्रेसले सधैँ आत्मसात गर्दै आएको बताउँदै सभापति देउवाले यसको खिलापमा हुने जुनसुकै गतिविधि पार्टीलाई सह्य नहुने उल्लेख गर्नुभयो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा रेग्मीको योगदान अतुलनीय भएको बताउँदै उहाँले रेग्मीले जीवनपर्यन्त विना स्वार्थ पार्टीलाई सहयोग गर्नुभएको स्मरण गर्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी, नेता शुक्रराज शर्मा, नेपाल महिला सङ्घ कास्कीका सभापति कोपिला रानाभाट, राजेन्द्रनिधि कोइराला, टङ्कमान नापित, रामकृष्ण पराजुलीलगायतले स्व रेग्मीले प्रजातन्त्र प्राप्तिको संघर्षमा गर्नुभएको योगदानबारे चर्चा गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्