Logo

शैक्षिक परामर्श व्यवसायीहरुको संगठन फेकनको साधारणसभा सम्पन्न



माघ १८, काठमाण्डौ । विदेश पढ्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा दिँदै आएका परामर्शदाता कम्पनीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनले आफ्नो ९ औँ साधारणसभा सम्पन्न गरेको छ ।

राजधानीको अन्नपूर्ण होटलमा सम्पन्न कार्यक्रममा बोल्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले शैक्षिक परामर्श क्षेत्रले विदेश पढ्न पठाएका विद्यार्थीहरुलाई नेपाल फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

विदेशमा अध्ययनका लागि गएको विद्यार्थीहरुलाई नेपालमै विकास निर्माणका कार्यमा प्रयोग गर्नुपर्नेमा जोड दिएकी हुन् ।

मन्त्री थापाले भनिन्–“देशलाई समृद्ध नेपाल सुखी नेपाली बनाउने चाहना पूरा गर्न विदेशिएका युवा जनशक्ती सिप सिकेर नेपाल फर्कर्नुपर्छ ।”

कार्यक्रममा नेकपा सांसद रामनारायण विडारीले आफ्नो स्वभावअनुसार उत्तेजित हुँदै नेपाली विद्यार्थीलाई उच्च शिक्षा आर्जनका लागि विदेश अध्ययनमा पठाउने व्यवसायीलाई राज्यले राम्रो नजरले नहेरेको आरोप लगाए ।

राष्ट्रिय सभाका सांसद समेत रहेका विडारीले शैक्षिक परामर्श व्यवसायलाई मर्यादित र व्यवस्थीत बनाउन शिक्षा नियमावली र निर्देशिकामै स्पष्ट व्यवस्था गर्नुपर्ने बताए ।

उनले स्थानिय तहमा दर्ता गर्ने ,संघिय तहमा दर्ता गरेर सञ्चालन गर्ने वा केन्द्रमानै दर्ता गरेर सञ्चालन गर्ने जस्ता कुरा गरेर व्यवसायीलाई अलमलमा पार्ने भन्दा पनि स्पष्ट खाका बनाउन आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा बोल्दै फेकन अध्यक्ष युवराज कटुवालले शैक्षिक परामर्श क्षेत्रमा स्पस्ट निर्देशिकाको आवश्यकता रहेको बताए ।

शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित निर्देशिका अपुरो भएको भन्दै कटुवालले स्पष्ट नीतिको आवश्यकता रहेको बताए ।
कार्यक्रममा बोल्दै शिक्षा मन्त्रालयअन्तरगत शैक्षिक प्रमाणिकरण शाखाका प्रमुख कृष्ण प्रसाद पोखरेलले शैक्षिक परामर्श सम्बन्धि निर्देशिका तयार भएर मन्त्रिपरिषदमा पुगेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै परामर्श व्यवसायीहरुको अर्को संगठन ईक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले फेकनलाई एक जुट भएर अगाडि बढ्न सुझाब दिए ।

कार्यक्रममा शिक्षा क्षेत्रमा कलम चलाएका सञ्चारकर्मीहरुलाई सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्