Logo

चितवनमा काँग्रेसको शक्ति प्रर्दशन



चितवन, २१माघ । चितवनमा नेपाली काँग्रेसले शक्ति प्रर्दशन गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार नेपाली काँग्रेसले चितवनमा पनि शक्ति प्रर्दशन गरेको हो । चौविसकोठीबाट शुरु भएको विरोध ¥याली पुल्चोक पुगेर कोणसभामा परिणत भएको छ ।

कोणसभालाई पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गरेका थिए ।  दुई तिहाइ समर्थनको सरकारले वाइड बडी खरिदमा भएको भ्रष्टाचार र महँगी नियन्त्रण गर्न नसकेको उनले बताए। सरकारले जनतालाई शान्ति सुरक्षा दिन नसकेको भन्दै निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेकोमा शर्माले सरकारको आलोचना गरे।

कोणसभामा शर्माले भने,‘हत्यारा पत्ता लगाउन सक्नुभएन जनतासँग माफ माग्नुस् प्रधानमन्त्रीज्यू। बरु १२ वर्षमा पत्ता लगाउँछु तर हत्यारा छोड्दिन भन्नुस्, यो कस्तो रामराज्य हो? निर्दोषलाई दोषीको रूपमा खडा गराउने? म ओली, प्रचण्डलाई मात्रै होइन हिजो एमाले र माओवादीलाई भोट दिने जनतालाई पनि सोध्छु यो कस्तो रामराज्य हो?।” देशमा महँगी सगरमाथाको शिखरजस्तो उचाइमा पुगे पनि सरकारले नियन्त्रण गर्न कुनै कदम नचालेको उनले आरोप लगाए।

‘महँगी सगरमाथाको शिखरमा पुगेको छ। कहिल्यै नढल्ने गरी। झुपडीको मतले सिंहदरबार पुग्ने अनि झुपडीमा बत्ती पुग्नु पर्दैन?,’ उनले भने।
कम्युनिष्टलाई भोट दिने जनतालाई सिंहदरबार पुगेपछि धोका दिएको उनले बताए।

‘म कम्युनिष्टलाई भोट दिनेलाई सोध्छु के तपाईंको सपनाको राज यही थियो?,’ उनले भने, ‘केपी महाराजलाई सिंहदरबारमा उभ्याएको आज यही दिन देख्नलाई हो?’ गरिब, झुपडीमा बस्ने जनताको एक/एक मत बटुलेर ओली विजयी भए पनि उनले जनतालाई बिर्सेको शर्माले आरोप लगाए।



प्रतिक्रिया दिनुहोस्