पोखरा,२१ माघ । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले नेपालमा हुने अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताले मित्र राष्ट्रबीचको सम्बन्ध प्रगाढ हुने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय टेनिस महासङ्घको आयोजना तथा कास्की जिल्ला टेनिस सङ्घको संयोजनमा पोखरामा आजदेखि शुरु १८ वर्षमुनिको आइटिएफ टेनिस प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेल क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलगायतका विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
प्रतियोगिता संयोजक सूर्यबहादुर भुजेलले पोखराको पर्यटन क्षेत्रको विकासमा खेलकूदले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । कार्यक्रममा नेपाल टेनिस सङ्घका अध्यक्ष ज्योति राणा, कास्की जिल्ला टेनिस सङ्घका महासचिव नवीन चालिसेलगायतले टेनिस खेलको विकासमा सरकारीस्तरबाट सहयोग आवश्यक रहेकामा जोड दिनुभयो ।
प्रतियोगिताको आज भएको पुरुष एकलतर्फको खेलमा हङकङका केललोक इन ताङले नेपालका प्रणव खनाललाई ६–३, ६–१, भारतका अनुराग अग्रवालले नेपालका आर्यन गिरीलाई ६–३, ६–०, फिलिपिन्सका जोसे एन्टिनियो ट्रियाले भारतका फैज नस्यामलाई ६–२, ६–३ र भारतका जेराल यासिनले श्रीलङ्काका कभिसा रत्नाइकेलाई ६–३, ६–१ ले पराजित गरे ।
त्यसैगरी चीनका चेन लियाङले नेपालका अभिनाव आचार्यलाई ६–१, ६–१, जर्मनका पउल आर्मिन अल्ब्रेच्टले नेपालका सम्रक्षक बज्राचार्यलाई २–६, ६–२, ६–२, भारतका दीपेन्द्र ग्रेवालले मलेसियाका जियान कियोन ताकेसीलाई ६–४, ६–४, चीनका जिछुवान लिले श्रीलङ्काका दिलान हेराथलाई ६–२, ६–०, भारतका आदित्य वरदान रोय चौधरीले मलेसियाका हेडन खु मेननलाई ६–०, ६–२ र जापानका ताकुमी वातानेवले थाइल्याण्डका पोस्वात अकरपनालाई ६–१, ६–४ ले पराजित गरेका थिए ।
प्रतियोगिताको आजै सम्पन्न महिलातर्फ भएको प्रतिस्पर्धामा भारतका श्रृष्टि धिरले नेपालका इशा श्रीलाई ७–५, १–६ र ६–२, चीनका लि यि लियुले भारतका श्रीया चक्रवर्तीलाई ६–०, ६–३, चीनका कुङलिङ जाङले नेपालका एनी माथेमालाई ६–१, ६–२ र कोरियाका जुमिन कोन्सले भारतका लेफिन जमिरलाई ६–२ तथा रिटायर्ड हर्टमा पराजित गरे ।
महिलातर्फकै अन्य खेलमा चीनका जियु झाङले नेपालका शुभांगी लक्ष्मी शाहलाई ६–०, ६–२, जापानका जुलिया धैया वार्देनले नेपालका प्रकृति श्रेष्ठलाई ६–१, ६–० तथा चीनका इटोङ झाङले नेपालका अल्सा रेग्मीलाई ६–०, ६–२ मा पराजित गर्दै विजयी शुरुआत गरे । प्रतियोगितामा मुख्य ड्र भन्दा खेलाडी सङ्ख्या बढी भएकाले यही माघको १९ र २० गते पूर्वछनोट खेलसमेत खेलाइएको थियो ।रासस