Logo

विदेश पढ्न जाने विद्यार्थी बढेको बढ्यै, सरकारले केही योजना नै ल्याएन



माघ २४, काठमाण्डौ । उच्चशिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीको संख्या बढिरहेको छ । स्तरीय शिक्षाको खोजीमा बिदेसिने विद्यार्थी बढेसँगै मुलुकबाट वार्षिक रूपमा ठूलो धनराशि बाहिरिने गरेको छ ।

विदेशमा लिएको शिक्षा र सिपलाई नेपालमा प्रयोग गर्न पनि सकिएको छैन । सरकारले पनि योग्यताअनुसारको अवसकार सृजना गर्न सकेको छैन ।

विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या हरेक वर्ष बढ्दै गएको छ । शिक्षा मन्त्रालयअन्तरगतको वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६७–६८ मा ११ हजार ९ सय ८२ विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिएकामा त्यो संख्या बढेर २०७४–७५ मा ५८ हजार ७ सय ५८ पुगेको थियो । विदेश पढ्न जाने उद्देश्यले एनओसी लिनेहरूको संख्या बढे पनि ती विद्यार्थी फर्केनफर्केको तथ्यांक शिक्षा मन्त्रालयसँग छैन ।

उनीहरू पढ्नभन्दा रोजगारीका निम्ति जाने गरेका उदाहरण प्रशस्तै भेटिन्छन् । सामान्यतया शिक्षा मन्त्रालय अन्तगरको शैक्षिक प्रमाणिकरण शाखाबाट नो अब्जेक्सन लेटर लिनेमध्ये ९० प्रतिशत विद्यार्थी वैदेशिक अध्ययनका लागि जाने गरेको पाइन्छ । पछिल्लो समय नेपाली विद्यार्थीलाई विदेश पढ्न पढाउनेभन्दा नेपाललाई नै अन्तराष्ट्रिय रुपमा शैक्षिक गन्तव्य बनाउने बहस बेलाबेलामा हुने गरेको छ । यो बहसभन्दा पनि महत्वपूर्ण कुरा विदेशमा पढेर दक्ष बनेका युवावर्गलाई स्वदेशमा कसरी प्रयोग गर्ने भन्ने छ । तर यस विषयमा सरकारले औपचारिक कार्यक्रममा गर्ने अनौपचारिक भाषणमै सिमित हुने गरेको छ ।

सरकारले उचित नीति बनाउने हो भने नेपाली विद्यार्थी विदेश पठाउने मात्रै होइन, विदेशी विद्यार्थीलाई नेपालमा पढ्ने वातावरण बनाउन आफूहरु तयार रहेको शैक्षिक परामर्श व्यवसायी बताउँछन् ।

विद्यार्थीहरुले भने आफ्नो शैक्षिक योग्यता अनुसारको काम नपाउने हुँदा विदेशमा पढ्न जान बाध्य हुनुपरेको गुनासो गरेका छन् । नेपालमा गुणस्तरीय शिक्षा र उचित रोजगारीको अभावका कारण शिक्षा र रोजगारीका लागि विदेश जानुपर्ने विद्यार्थीको बाध्यता छ ।

विश्वका ७० मुलुकमा नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि नो अब्जेक्सन लेटर लिने गरेका छन् । चालु आर्थिक वर्षको पुष महिनासम्म मात्रै ३८ हजार ३३ जनाले एनओसी लिइसकेका छन् । छ महिनाको तथ्याङ्का आधारमा अघिल्लो वर्षभन्दा यो वर्ष झण्डै २० हजारभन्दा बढि विद्यार्थीले एनओसी लिने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्