नयाँ दिल्ली, २६ माघ : भारतमा शुक्रबार अवैध तथा विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु हुनेको सङ्ख्या ५८ पुगेको छ । देशको दुई उत्तरी राज्यहरू, उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा परी अरू कैयौँ बिरामी भएको पनि अधिकारीहरूले जनाएका छन् ।
“उत्तर प्रदेशको सहारानपुर जिल्लामा विषाक्त मदीरा सेवानका कारण मृत्यु हुनेको सङख्या ३६ भएको पुष्टि गरेको छ भने बाँकी नमूनाहरूबारे थप परीक्षण भइरहेको छ,” सहारानपुरस्थित अस्पतालका चिकित्सक एके पाण्डेले बताउनुभयो ।
“हाम्रो प्रदेशमा मात्रै गुणस्तर प्रमाणित नगरिएको तथा गैरकानुनी मदिरा सेवन गर्दा १४ जनाको मृत्यु भएको छ भने अरू केही बिरामी भएका छन्,” हरिद्वारबाट एक स्थानीय सरकारी अधिकारीले सिन्ह्वालाई बताउनुभयो ।
उहाँले बिरामी भएकालाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको पनि जानकारी दिनुभयो । प्राप्त सूचना अनुसार मृत्यु भएका वा बिरामी भएकाले स्थानीय एक पसलबाट लगेको मदिरा सेवन गरेका थिए ।
यसैबीच उत्तराखण्डको स्थानीय सरकारले केही सरकारी अधिकारी र चार जना प्रहरीलाई घटनासँग सम्लग्न रहेको आरोपमा अनुसन्धानका लागि निलम्बन गर्न निर्देशन दिएको छ । (रासस/सिन्ह्वा)