Logo

‘सरकारको एक वर्षलाई जनताले कालरात्रि वर्षको रुपमा लिएका छन्’



काठमाडौं, ४ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एन.पी. साउदले वर्तमान सरकारको एक वर्षे कार्यकाललाई जनताले कालरात्रि वर्षको रुपमा लिएको खरो टिप्पणी गरेका छन् ।

शनिबार रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा नेता साउदले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,‘सरकारको यो एक वर्षे कार्यकालको मुल्यांकन गर्ने हो भने सरकार जनताका अपेक्षाहरु पूरा गर्ने काममा असफल भएको छ । संविधान कार्यान्वयनको सन्दर्भमा प्रान्तीय र स्थानीय सरकारलाई सशक्तीकरण गर्नुपर्नेमा राज्यका अधिकारहरु संविधान विपरित आफूमा केन्द्रित गरेको छ।’

साउदले अघि भने,‘अहिले विकास निर्माण तिव्र भएको छैन् । विदेशी लगानी आकर्षित भएको छैन् । सरकारले रोजगारी प्रर्वद्धन गर्न सकेको छैन् । आकाशे वर्षाका कारण कृषि उत्पादनमा केही सकारात्मकता देखिएपनि यसलाई व्यवसायीकरण गर्ने चूनौति पूरा गरेको छैन् ।’

उनले पछिल्लो सयम मुलुकमा गरिबी बढेको समेत दृष्टान्त पेश गरे । उनले थपे,‘ भ्रष्टाचार बढेको कुरा टा«न्सपेरेन्सी ईन्टरनेश्नलको रिपोर्टले देखाईसकेको छ । राज्यले सहकारी, वित्तिय संस्था र गैरसरकारी संस्थाहरुलाई नियन्त्रण गर्न खोजेको छ ।’

त्यस्तै यातायात क्षेत्रको सिण्डिकेट हटाउँछु भनेर ठूलो स्वरमा भनिएपनि सरकार यो विषयमा पनि मौन बसेको उनको आरोप छ । सरकारले विदेश सम्बन्धलाई सन्तुलित बनाउन नसकेको साउदले आरोप लगाए । उनले भने,‘विदेश सम्बन्ध असन्तुलित छ । छिमेकीसँगको सम्बन्ध लम्पसारवादमा आधारित छ । चीनसँग राम्रो सम्बन्ध भएको कुरा पटक–पटक गरिएपनि रेलदेखि अन्य कुरामा ठोस अनुदानको आश्वासन नपाईसकेको अवस्था छ ।’

उनले पश्चिमी देशहरुसँगको सम्बन्धमा पनि अहिले उतारचढाव आएको टिप्पणी गरे । उनले भने,‘भेनेजुएला प्रकरणले त लामो समयदेखि हामीसँग सुमधुर सम्बन्ध रहेको अमेरिकालाई चिढ्याउने काम भएको छ ।’

त्यस्तै उनले संविधानमा धर्मनिरपेक्षता लेखिएपनि वर्तमान सरकारले क्रिश्चियन तथा ईसाई सम्मेलनहरुको नेपालमा आयोजना गरेर धर्मान्तरणलाई प्रसय दिएको गम्भिर आरोप लगाए ।

महँगी ह्वात्तै बढेको सुनाउँदै साउदले भने,‘सरकारले खर्च गर्न सकेको छैन् । विकास निर्माणका प्रक्रियाहरु अघि बढेका छैनन् । यसको नकारात्मक असर उद्योग व्यवसायीहरुलाई परेको छ । समग्रमा यो एक वर्षलाई नेपाली जनताले काल रात्रि वर्षको रुपमा लिएका छन् । यो सरकार एक वर्षमा पुरै असफल भएको छ ।’



प्रतिक्रिया दिनुहोस्