काठमाडौं, ५ फागुन । चर्चित लोक गायक पशुपति शर्मा यतिवेला सम्पर्कविहीन भएका छन् । आफूलाई दबाब र धम्की आएको भन्दै उनले ‘लुट्न सके लुट कान्छा’ बोलको व्यंग्यात्मक भाव बोकेको गीत यूटुव च्यानलमार्फत हटाएको भोलिपल्ट आज उनी सम्पर्कमा आएका छैनन् ।
हालै सार्वजनिक भएको उक्त गीतमा दलका नेता, मन्त्री, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई व्यंग्य हानेका थिए। गीतमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो देखाएको कुरा बाहिर आएको थियो । युट्युवबाट गीत हटाएका शर्माको आज भने मोवाईल नम्बर नै बन्द छ । उनी किन यति धेरै ठूलो तनाबमा आए ? या उनलाई कसले धम्की दिएको हो ? यो कुरा अहिले चासोको विषय बनेको छ ।
शर्माको गीतमा प्रयोग भएको केही शब्द विवादमा तानिएपछि उनले समाजिक सञ्जालमार्फत असन्तुष्टि देखिएका शब्दहरुलाई परिमार्जन गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन् :
‘सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहान्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगति व्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले विसंगतीलाई व्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासँग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकाले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु।’