Logo

वीर अस्पतालको ईमर्जेन्सी सेवा दयनीय, स्त्रीरोग अस्पताल पनि उस्तै



फागुन ५, काठमाण्डौ । अस्पतालमा बिरामीको अत्याधिक चाप बढ्दा सहज सेवा प्रवाहमा बाधा पुगेको छ । आकस्मिक उपचार कक्ष इमर्जेन्सीमा त बिरामीको चाप झन् थेगिनसक्नु रहेको छ । काठमाडौं उपत्यकाका सरकारी अस्पतालका आकस्मिक कक्षमा धान्नै नसक्ने गरी बिरामीको चाप बढ्दा व्यवस्थापन र उपचारमा समस्या भएको हो ।

अस्पतालको आकस्मिक उपचार कक्ष अर्थात इमर्जेन्सी कक्षमा बिरामीलाई सामान्यतः ६ घन्टासम्म राखेर उपचार गर्नुपर्ने हुन्छ । तर सरकारी अस्पतालका इमर्जेन्सी कक्षमा बेडको अभावमा बिरामीलाई ६ घन्टा राखेर उपचार दिन सकिएको छैन । मुलुककै जेठो वीर अस्पतालमा जम्मा ४ सय ६० वेड हुनुपर्नेमा अहिले ३ सय ६० वेडमा चलीरहेको छ ।

त्यसमा पनि इमर्जेन्सी कक्षमा हाल ३० संख्या वेडको संख्या रहेको छ । अस्पतालमा १० प्रतिशत वेडको संख्या इमर्जेन्सीका लागि छुट्याउनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । तर वीर, अस्पताल लगाएत विभिन्न सरकारी अधिकांश अस्पतालले त्यो मान्यताअनुसार काम गर्न सकेको छैन । वीर अस्पतालका चिकित्सकले नै क्षमताभन्दा बढि विरामी आउने गरेको जानकारी दिएका छन् ।

 

वीर अस्पतालका चिकित्सक डा.केदार सेन्चुरी

तर विरामीलाई मापदण्डविपरित उपचार गर्नुपरेको चिकित्सकहरु नै स्वीकार गर्छन् । इमरजेन्सी कक्षमा कतिपय वेवारिसे विरामी लामो समयसम्म पनि रहिरहने हुँदा समस्या थपिएको वीर अस्पतालका चिकित्सक डा.केदार सेन्चुरी बताउँनुहुन्छ ।

त्यस्तै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको इमर्जेन्सीको हालत पनि उस्तै छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा बार्षिक ३० हजार विरामी आउने गरेको छ । उक्त अस्पताल ४ सय १५वेडको तर अहिले ३ सय ५० वेड रहेको छ । इमर्जेन्सीमा पनि २० वटा वेडको संख्या रहेको छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतम

तर उक्त अस्पतालको इमर्जेन्सीमा दैनिक ८० जनाभन्दा बढि बिरामी आउने गरेको छ । अस्पतालको निर्देशक डा. जागेश्वर गौतमले बिरामीलाई वार्डमा सारेर भए पनि केही हदसम्म व्यवस्थापन सहज बनाइएको जानकारी दिनुभयो । तर मापदण्डअनुसार उपचार दिन सकिने अवस्था नरहेको अस्पतालका निर्देशक डा. जागेश्वर गौतमको जवाफ छ ।

काठमाण्डौ उपत्यकामा संचालित अधिकांश सरकारी अस्पतालको अवस्था यस्तै छ । तर सरकारको ध्यान जान सकेको छैन । ठूला ठूला सपना देखाउने सरकराले जनताका संवेदनशील समस्यामा भने चासो दिन नसक्दा अस्पताल नै अव्यवस्थित बन्दै गएको छ । यसतर्फ सम्बन्धित निकाय गम्भीर हुनु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्