काठमाडौं, ६ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बरिष्ठ नेता माधव कुमार नेपाल पड्किएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा बरिष्ठ नेता नेपालले अध्यक्षद्धयको कार्यशैली चित्तबुझ्दो नभएको भन्दै रुष्टता पोखेका हुन् । स्रोतका अनुसार नेता नेपालले अब पनि नसच्चिए पार्टीभित्र अध्यक्षद्धयविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका थिए ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकलौटी रुपमा पार्टी चलाएको र सरकार पनि त्यहीअनुसार चलाएको भन्दै नेता नेपालले आक्रोश पोखेका थिए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘तपाईहरु अध्यक्षद्धय फेरी पनि मिलेको हो कि भन्ने शंका लागेको छ ।’
आजको बैठकमा साङ्गठनिक एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ । गत पुस १२ गते सम्पन्न स्थायी कमिटिको बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेकोे थियो । सो कार्यदलले तयार पारेको साङ्गठनिक एकता सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालयको बैठकमा पेश गरिएको हो ।
बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल शुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘‘सो प्रतिवेदन पेश भएपछि के गर्ने भन्ने विषयमा छलफल भयो,” । उनले भने,“कार्यदलको प्रतिवेदनमाथि छलफल जारी राख्दै अर्को बैठक यही फागुन ९ गते बस्ने भएको छ ।”
साङ्गठनिक एकताका सन्दर्भमा कार्यदलले लामो छलफल गरे पनि केही विषयमा भने सहमति हुन नसकेको केही नेताले बताए । प्रवक्ता श्रेष्ठले ९ गते बस्ने बैठकमा कार्यदलका सम्पूर्ण सदस्यसहित सचिवालयको संयुक्त बैठक बस्ने र साङ्गठनिक एकताको विषयलाई कसरी टुङ्गो लगाउने भन्नेबारेमा आवश्यक नीति र निर्णय गरिने जानकारी दिए ।
गत जेठ ३ गते तत्कालीन नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भए पनि जिल्ला तथा जनवर्गीय सङ्गठनको एकता हुनसकेको छैन ।
स्थायी समितिले कार्यदल नै गठन गरेर साङ्गठनिक एकता टुङ्गो लगाउने बताए पनि कार्यदलमा सबै विषयमा सहमति हुननसक्दा एकता प्रक्रियामा विलम्ब हुँदै आएको छ । आगामी संयुक्त बैठकबाट एकता सम्बन्धी विषयलाई टुङ्गो लगाउने र देशव्यापी रुपमा अभियान सञ्चालन गर्ने मनस्थितिमा सचिवालय पुगेको बताइएको छ ।