Logo

स्ववियु निर्वाचन : ओली र देउवाको दबाबले भिसी खनियाँ तनाबमा



काठमाडौं, ८ फागुन । स्ववियु निर्वाचन समयमै गराउनको लागि तत्काल संयुक्त विद्यार्थी संगठनलाई छलफलमा बोलाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तिर्थ खनियाँलाई निर्देशन दिएका छन् ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिसी खनियाँलाई अहिले स्ववियु निर्वाचन नगराउन दबाब दिएका छन् । प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवाको बेग्लाबेग्लै दबाब आएपछि भिसी अहिले आन्तरिक दबाबमा परेका छन् ।

देउवाले नेपाल विद्यार्थी संघ अहिले नेतृत्वविहीन भएकोले तत्काल स्ववियु निर्वाचनमा सहभागी हुने सम्भावना नरहेको भन्दै भिसीलाई सोहीअनुसार अघि बढ्न निर्देशन दिएका छन् । तर, प्रधानमन्त्रीले कुनैपनि हालतमा घोषित मितिमै निर्वाचन गराउनुपर्ने र त्यसको वातावरण बनाउन भिसीलाई दबाब दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने बताएपनि अन्यौलमा रहेको छ । स्ववियु निर्वाचन फागुन १४ गते भनेर प्रचार भइरहेकोप्रति खण्डन गर्दै विश्वविद्यालयले चाडै नै मिति तय गर्ने जनाएको हो । मितिको बारेमा सरोकारवालाहरुसँग विभिन्न चरणमा छलफल भइरहेको विश्वविद्यालयले जनाएको छ ।

चाडै त्रिवि कार्यकारी परिषद्को बैठकले मिति तोक्ने बताएपनि कहिले हुने भन्ने बारेमा भने अन्यौलता नै रहेको सरोकारवालाहरुको भनाई छ ।प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता सबै क्याम्पसमा हुन सकेको छैन। विद्यार्थी संगठनबीच निर्वाचन प्रणाली र उमेर हदबन्दीको विषयमा सहमति हुन नसक्दा निर्वाचन हुन नसकेको हो।

२०७३ सालमा उमेर हदबन्दी २८ वर्ष कायम गरेपछि र समानुपातिक निर्वाचन प्रणाली अपनापछि अधिकांश क्याम्पसमा विद्यार्थी संगठनकै कारणले स्ववियु निर्वाचन हुन सकेको छैन । २०७३ फागुन १८ गते भएको स्ववियु कार्यसमितिको पनि दुई वर्षे कार्यकाल सकिन थालेकाले निर्वाचन गर्नु पर्ने भएको हो । गत निर्वाचनमा ६० मध्ये २६ आंगिक क्याम्पस र ८० वटा सामुदायिक क्याम्पसमा निर्वाचन भएको थियो।

त्रिविका ६० आंगिकसहित एक हजार ८३ क्याम्पस छन् । त्रिविले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीमा निर्वाचन गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot