Logo

‘समृद्धि आए मात्र शहीदको सपना पूरा हुन्छ’



बाग्लुङ, ११ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा समृद्धि नआएसम्म शहीदको सपना पूरा नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘अहिलेको सरकारले समृद्धिका लागि आवश्यक पर्ने सबै कानून निर्माण गरेको हो ।

बागलुङको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटनमा उहाँले अबको समय भनेको समृद्धिका लागि निर्माण गरेका कानूनलाई टेकेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

अध्यक्षले भन्नुभयो, ‘पार्टी एकीकरणको लागि अब कुनै कसुर बाँकी राख्दैनौँ ।’ उहाँले नेपाली जनताले आर्थिक अभावमा उपचार तथा शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको यो सरकारले अन्त्य भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले विद्यालयमा प्राविधिक शिक्षा तथा भौतिक सुधारका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

त्यसैगरी शुक्रबार कपिलवस्तु विजयनगर गाउँपालिकामा आयोजित बृहत् कवि सम्मेलन एवम् मुसायरा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रदेश नं ५ को विकासका लागि आफूले सार्वजनिक रुपमा गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभयो ।

गाउँपालिकाले अध्यक्ष समक्ष पेश गरेको ज्ञापनपत्र बुझ्दै उहाँले जनताका मागलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले गाउँपालिकाको विकासका लागि आफूले निरन्तर सहयोग गर्ने र निर्वाचनका समयमा आफूले गरेका प्रतिबद्धता पूरा गर्ने प्रयासमा लाग्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot