काठमाडौं, १६ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तीन दिनसम्म पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्याने गरी बुधबार भएको हेलिकप्टर दुर्घटना भएको भोलिपल्ट आज (बिहीबार) विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार आजको बैठकमा एक मिनेट मौन धारण र शोक प्रस्ताव पारित भएको छ । देशैभरको पार्टी कार्यालयमा पार्टीको झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राख्ने पनि पार्टीले निर्णय गरेको छ। त्यस्तै, फागुन २३ गते पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा केन्द्रिय श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने पनि बैठकले निर्णय गरेको छ ।
तस्विर : मुकुन्द कालिकोटे