फागुन १८, काठमाण्डौ । वरिष्ठ विमान चालक विजय लामाले नेपालमा हवाई दुर्घटना हुनुका मुख्य कारणहरुबारे विशेष जानकारी दिएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै लामाले नेपालको अप्ठ्यारो भौगोलिक अवस्था र प्रतिकुल मौसम हवाई दुर्घटनाका मूख्य कारण भएको बताएका छन् ।
यि दुईबाहेक अरु पनि धेरै कारणहरुले दुर्घटना हुने गरेको लामाको तर्क छ । उनले भने–“हवाई दुर्घटनाका कारणहरु धेरै हुन्छन् । नियम पालना भएको छ कि छैन ? जहाजको मर्मत र परिक्षण भएको छ कि छैन ? विमान चालकहरु सही ढंगले तालिम लिएको छ कि छैन ?”
लामाले जनता र नेताका कारण पनि दुर्घटना हुने गरेको औँल्याएका छन् ।
विमान कम्पनी संचालकहरुकै कारण पनि यस्ता दुर्घटना हुने गरेको लामाको जिकिर छ । दुर्घटनापछि बन्ने छानविन आयोगले चालकलाई दोष दिने गरेकोप्रति लामाले असन्तुष्टी व्यक्त गरेका छन् ।
“चालकको निधन भइसकेपछि उसैको दोष देखाउने प्रवृत्ति गलत हो । चालकका कारण मात्रै दुर्घटना भएका छैनन् ।” लामाले भने ।