Logo

मन्त्रीमण्डल पुनर्गठनबारे ओली–प्रचण्डबीच छलफल : महासेठ ‘आउट’, भट्टराई ‘इन’



फागुन १८, काठमाण्डौ । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच मन्त्रीमण्डल पुनर्गठनबारे शुक्रबार राति छलफल भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्षद्धयबीच मन्त्रीमण्डल पुनर्गठनबारे करिब डेड घण्टा छलफल भएको नेकपा स्रोतले जानकारी दिएको छ ।

पर्यटनमन्त्री रविन्द्र अधिकारीको अन्तिम संस्कारपछि भएको छलफलमा सरकारको काम प्रभावकारी नभएको भन्दै दुवै अध्यक्ष मन्त्रीहरु हेरफेर गरेर भएपनि अघि बढ्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

स्रोतका अनुसार रिक्त भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयमा योगेश भट्टराईलाई लैजाने बारे अध्यक्षद्धयबीच प्रारम्भिक सहमति भएको बुझिएकोछ ।

तर, त्योभन्दा अगाडि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लैजाने र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई विष्टको ठाउँमा लैजाने विषयमा छलफल भएको छ ।

भौतिक मन्त्री रघुवीर महासेठलाई भने हटाउने मनसायमा ओली पुगेको बताइएको छ । तर यस विषयमा अन्तिम निर्णय भने ओलीले लिइसकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कसलाई लैजाने भन्ने विषयमा छलफल जारी छ ।



प्रतिक्रिया दिनुहोस्