Logo

खाना पकाउने ग्यासमा कालोबजारी सुरु, अभाव चुलिने संकेत



फागुन २०, काठमाण्डौ । यतिखेर बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । कमिशन बढाउन उद्योगीहरुले दबाब दिएसँगै बजारमा ग्यास लुकाउन थालिएको छ ।

उद्योगीदेखि खुद्रा व्यापारीसम्मले एक अर्काप्रति आरोप प्रत्यारोप गर्दै ग्यासको अभाव सिर्जना गरेका छन् । जस्को मार सर्वसाधारण उपभोग्ताले भोग्नु परिरहेको छ ।

उद्योगी व्यावसायीले खाना पकाउने ग्यासमा पाउने कमिशनको मूल्य बढाउनु पर्ने माग राख्दै आएपछि बजारमा कालोबजारी सुरु भएको छ । उपभोक्ताले ग्यास नपाएको गुनासो गर्न थालेका छन् । नियमित ग्यास किन्ने गरेको पसलले नै आफ्ना ग्राहकलाई रित्तो हात फर्काएका छन् ।

एउटा मात्रै ग्यास सिलिण्डर भएका उपभोक्तालाई त समस्या झन विकराल छ । ग्यास अभाव सृजना गरिएको छ । कालोबजारीमार्फत किन्दा पैसा बढि तिर्नुपर्छ । अतिरिक्त ग्यास नराख्नेहरु चिउरा खाएर पेट भर्नुपरेको छ ।

उद्योगी र थोक विक्रेताले ग्यासको कमिशन बढाउन आन्दोलन गर्न थालेपछि ग्यासको मूल्य बढ्ने बहानामा खुद्रा व्यापारीहरुले ग्यास लुकाउने गरेका छन् । तर, खुद्रा व्यापारीले डिपोले ग्यास नपठाएका कारण उपभोक्तालाई ग्यास दिन नसकेको बहाना बनाएर कालोबजारी गरिरहेका छन् ।

उद्योगीले १७ फागुनबाट हडतालका कार्यक्रम सुरु गरी ३० गतेदेखि देशभर ग्यास बिक्री ठप्प पार्ने चेतावनी दिदै आएका छन् । ६ वर्षदेखि सरकारले उद्योगी व्यावसाीको माग नसुनेकाले आन्दोलन गर्न बाध्य भएको नेपाल ग्याँस उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेको गुनासो छ ।

नेपाल ग्यास विक्रेता महासंघका अध्यक्ष महेशमान श्रेष्ठले भने उपभोक्तालाई असर पर्ने गरी विरोधका कार्यक्रम नगरिएको झुटो दावी गरे ।

नेपालमा ५३ वटा ग्याँस उद्योगले ग्यासको बोटलिङ गर्ने गरेका छन् । ग्यास उद्योगीले प्रति सिलिण्डर हाल २ सय ३२ रुपैयाँ भाडा र कमिसनवापतको रकम पाउदै आएका छन् ।

तर, उद्योगीले प्रतिसिलिण्डर कमिशनको मूल्य बढाउनु पर्ने माग गर्दै आएका छन् । सरकार उद्योगी व्यावसायीको द्धन्दका कारण बजारमा चरम ग्यासको अभाव कायम गर्नु उपभोक्ता हितविपरितको काम हो । जस्लाई चाडै नै समाधान गरी बजारमा ग्यास अभाव हुन नदिन प्रयास थालिनु पर्छ ।



प्रतिक्रिया दिनुहोस्