Logo

रानीपोखरीमा अर्को राजनीति : पुनः निर्माण गर्ला त उपभोक्ता समितिले ?



फागुन २१, काठमाण्डौ । २०७२ सालको भुकम्प पछि ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिमार्फत सुरु भएको छ । लामो समय विवादमा अल्झिएको रानीपोखरी पुनर्निर्माण अब भने सम्पन्न हुन्छ कि भन्ने आशा पलाएको छ ।

तर सरकारी निकायहरुको गैरजिम्मेवारीपन दोहोरिने हो कि भन्ने आशंका पनि यथावत नै छ ।

शिलान्यास भएको तीन वर्षसम्म अलपत्र रहेको रानीपोखरी पुनः निर्माण धेरैको चासोको विषय बन्यो । सरकारका कुन निकायको नेतृत्वमा बनाउने भन्नेमा पनि लामै समय विवाद भयो । अहिले भने यसको पुनः निर्माणको काम सुरु भएको छ । पुनः निर्माणमा भक्तपुरको भाजुपोखरी उपभोत्ता समिति सहभागि छ ।

२ माघ २०७२ मा शिलान्यास भएको रानीपोखरीको पुनर्निर्माण सुरुमा काठमाडौं महानगरपालिकाले पाएको थियो । तर, महानगरले ठेकदारमार्फत काम गराउँदा प्राचीन सम्पदा पुनर्निर्माणमा एकपछि अर्को लापरवाही भएको भेटियो । सुशील ज्ञवाली दोस्रो पटक पुनर्निर्माण प्राधिकरणको सीईओ भएर आएपछि नेपाली सेनालाई बनाउने दिने बहस पनि भयो । तर, सेनालाई ठेकदार बनाउन नहुने मत आएपछि अन्ततः सरकारले मन्त्रिपरिषद्मार्फत प्राधिकरणलाई जिम्मा दियो । पुनर्निर्माण प्राधिकरण आफैं बनाउने त होइन, त्यसैले ठेकदारलाई दिने कि उपभोक्ता समिति भन्ने लामै बहस भयो । तर, अन्ततः प्राधिकरणले उपभोक्ता समिति रोजेको हो ।

मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।

परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुने भएर पुननिमार्ण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मापदण्डअनुसार रानोपोखरीको पुनर्निर्माण गर्नेभएको छ । रानीपोखरी पुनर्निर्माणमा ४० जना कालीगढ खटिएका छन् भने आवश्यकता अनुसार कालिगढहरुको संख्या बढाउने छ ।

राष्ट्रपतिले शिलान्यास गरेको, सरकारले पनि प्रतिष्ठाको विषय बनाएको रानीपोखरी पुनर्निर्माण तीन वर्षसम्म अलपत्र थियो । झारले ढाकिएको पोखरी, बन्दाबन्दै अलपत्र छाडिएको बालगोपालेश्वर मन्दिरले रानीपोखरी खण्डहर जस्तो बनेको थियो । महानगरले पोखरीको जगमा कंक्रिट हालेपछि सुरु भएको विवादले झन् अन्यौलता थपियो ।

यसले रानीपोखरी भूकम्पपछिको पुनर्निर्माणमा भएको विलम्बको प्रतिविम्ब बनेको थियो । तर, भक्तपुरमा राम्रो काम गरेका कालिगढहरु ल्याएर उपभोक्ता समितिमार्फत काम थालेपछि अब भने बाधा अवरोधविना काम सकिन्छ कि भन्ने आश जागेको छ ।



प्रतिक्रिया दिनुहोस्