Logo

‘कम्युनिष्ट सरकार सहिदको त्यागमाथि उभिएका कारण सहिदप्रति थप जिम्मेवार’ : प्रचण्ड



इटहरी, २१ फाल्गुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको मंगलबार उद्घाटन गर्नुभएकाे छ ।

इटहरी वडा नम्बर–१९ मा नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अब सो बिद्यालयलाई प्राबिधिक शिक्षालय बनाउने तयारी भइरहेको बताउनुभयाे । जनयुद्ध, २०६२/६३ को जनआन्दोलन, मधेस, जनजाति आन्दोलन साथै बिभिन्न राजनीतिक आन्दोलनमा सहिद हुने तथा वेपत्ता परिवारका छोराछोरी यो विद्यालयमा अध्ययन गर्दछन् । इटहरी, पोखरा, जिरी, दाङ, र डोटीमा २०६६ सालमा यस्ता बिद्यालय स्थापना गरिएको छ ।

यी ५ वटै विद्यालयहरुलाई प्राबिधिक शिक्षालयका रुपमा रुपान्तरण गर्ने सरकारी तयारी भइरहेको अध्यक्ष प्रचण्डले बताउनुभयाे । उहाँले पुरानो शिक्षा नीतिले मुलुक भित्र बेरोजगार जमात मात्र उत्पादन भएको भन्दै शिक्षा नीति परिमार्जित गर्दै प्रबिधिक शिक्षालाई अनिवार्य कार्यान्वयन गर्ने सरकारको तयारी रहेको जानकारी दिनुभयाे ।

यस्तै अध्यक्ष प्रचण्डले अहिलेको कम्युनिष्ट सरकार सहिदको त्यागमाथि उभिएका कारण सरकार शहिदप्रति थप जिम्मेवार रहेको बताउनुभयाे । सहिदको बलिदानकै कारण नेपालमा स्थायित्व र लोकतान्त्रिक सरकार गठन भएको प्रचण्डको भनाइ थियो । मंगलबार उद्घाटन गरिएको भवनमा १५ कोठा रहेका छन् । भवन करिब ३ करोड लागतमा तयार भएको बताइएको छ ।

अध्यक्ष प्रचण्डले मोरङको बेलबारी नगरपालिका–१० स्थित सिर्जना सामुदायिक वनमा निर्माणाधीन सिर्जना पार्कको अवलोकन गर्नुभएकाे थियाे। नेपालसहित छ वटा देशका मूर्तिकारले निर्माण गरिरहेका ढुङ्गाका कलात्मक मूर्ति हेर्दै अध्यक्षले ढुङ्गाबाट समेत समृद्धि आउँदो रहेछ भन्नुभयाे। उहाँले निर्माण भइरहेको पार्कका विषयमा जानकारी लिनुभएकाे थियाे। ढुङ्गाका विभिन्न कलात्मक मूर्तिसँग फोटो खिच्दै उनले पार्कलाई प्राकृतिक खालको बनाउनसमेत सुझाव दिनुभयाे ।

सोमबार नै इटहरी आएका प्रचण्डले इटहरीमा सुनसरी र मोरङका अगुवा कार्यकर्तालाई समसामयिक विषयमा संक्षिप्त राजनीतिक प्रशिक्षण दिनुभएकाे थियाे । इटहरी बैंकेटमा भएको प्रशिक्षणमा प्रचण्डले अब छिट्टै पार्टी एकता टुङ्ग्याउने जानकारी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot