Logo

नेपालको नयाँ नक्सा सार्वजनिक, ४ प्रदेश खै ?



फागुन २३, काठमाण्डौ । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । संघीय संरचना बमोजिमको नक्सा प्रशासनकि हो । तर कतिपय प्रदेशको नाम र राजधानी स्थायी नभएकाले नक्सा अपुरो भएको छ ।

सरकारले संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गर्नु भएको हो ।

नक्सामा सात वटै प्रदेश, त्यसको सिमाना, ७७ वटा जिल्ला र त्यसको सिमाना, अन्तराष्ट्रिय विमानस्थल, मुख्य–मुख्य नदी, खोला र ताल मात्रै उल्लेख गरिएको छ । सबै प्रदेशको नामाकरण समेत नभएकाले नक्सामा सबै प्रदेशको नाम उल्लेख गर्न नसकिएको पनि मन्त्री अर्यालले स्पष्ट पार्नु भयो ।

उहाँले प्रदेशको राजधानी र नाम पर्खेर बस्दा सो नक्सा सार्वजनिक गर्ने काममा ढिलाई भएको पनि स्पष्ट पार्नु भयो । मन्त्री अर्यालले सो नक्सा सबभन्दा पहिला सिंहदरबारमा हस्तान्तरण गर्ने योजना पनि सुनाउनु भयो । त्यसपछि नेपालको प्रशासनिक नक्सालाई प्रदेश र स्थानीय तहमा पनि क्रमशः हस्तान्तरण गर्दै लैजाने भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको योजना छ । मन्त्री अर्यालले प्रदेश स्तरको र ७ सय ५३ वटै स्थानीय तहको नक्सा पनि छिट्टै सार्वजनिक गर्ने घोषणा गर्नु भयो ।

सरकारले सार्वजनिक गरेको सो नक्सा नापी विभागको वेबसाईटमा राखिएको छ । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले विभागको वेबसाईटमा पनि सो नक्सा राखिएकाले त्यसैलाई आधिकारिक मानेर प्रयोग गर्न पनि सम्बन्धित सबै निकायलाई आग्रह गर्नु भयो ।

२०१४ सालमा स्थापना भएको नापी विभागले २०३२ सालदेखि नेपालको नक्सा तयार पारी सार्वजनिक गर्न सुरु गरेको हो । नयाँ प्रशासनिक नक्सा एक सेन्टिमिटरको १० किलोमिटर र एक मिलिमिटरको एक किलोमिटर हुनेगरि बनाइएको छ ।

नक्सामा प्रदेश, जिल्ला र मुख्य राजमार्गहरुलाई चित्रित गरिएको छ । नापी विभागका उप महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा नक्सा निर्माण तयार गर्न समिति गठन गरेको थियो । समितिले नक्सा तयार गरी बिहिबार नै सरकारलाई बुझाएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्