फागुन २६, काठमाण्डौ । नेकपाका नेता केशव बडालले सिके राउतसँग सरकारले गरेको सम्झौताप्रति पार्टीभित्र असन्तुष्टी देखिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता बडालले केही साथीहरु असन्तुष्ट भए पनि यसको व्यवस्थापन हुने दावी गरे ।
नेता बडालले राउतसँगको सहमति सोमप्रसाद पाण्डेको संयोजकत्वमा बनेको वार्ता समितले सफल बनाएको पनि जिकिर गरे । सहमति विषयका पार्टीका कोही नेताले पनि चिन्ता लिन आवश्यक नरहेको बताए ।
सहमतिको विषयमा पार्टीभित्र छलफल गर्ने समय नभएकाले तत्काल निर्णय भएको बताउँदै आगामी दिनमा छलफल गर्ने विषयलाई नेतृत्वले मनन गर्ने बताए ।
सहमतिको विषयमा नेता भिम रावलले प्रकट गरेको असन्तुष्टीलाई बडालले लोकतन्त्रको मर्मको रुपमा व्याख्या गरे । सरकारले राउतसँग संविधानको मर्मभित्रै रहेर सहमति गरेको जिकिर गरे ।
स्वतन्त्र मधेश गठबन्धनलाई किन स्विकार गर्यो भन्ने धमलाको प्रश्नमा बडालले नेपालको भूभाग कसरी जोगाउने भन्नेमा सरकार सचेत रहेको बताए ।
सहमतिमा मधेशका विषयमा जनमत संग्रह गर्ने आशय नभै निर्वाचनमा सहभागि भएर जनमत जित्नुपर्ने आशय उल्लेख गरिएको बडालले दावी गरे ।