Logo

सरकारको समन्वयमा सुडानी संवादक खुशी



काभ्रेपलाञ्चोक, २६ फागुन । अफ्रिकी मुलुक दक्षिणी सुडानका नागरिक किमले नेपालका तीनै तहका सरकारले स्थानीय तहमा भएका समस्या समाधानमा समन्वयकारी भूमिका खेल्ने गरेकामा खुशी व्यक्त गर्नुभएको छ ।

उहाँ भन्नुहुन्छ, “तपाईहरुको समस्यामा संवादमार्फत छलफल गरी समन्वय गर्ने प्रक्रियामा सबै तहका सरकारको सहभागिता रहेको पाइयो, यो खुशीको कुरा हो, हाम्रो सरकार संवाद गर्न रुचाउँदैन, हाम्रो सरकार त्यस्तो छैन, जनतासँग दूरीमै बस्न चाहन्छ ।”

संवाद कुञ्जद्वारा आज बनेपामा आयोजित युवासँग संवाद कार्यक्रममा दक्षिणी सुडानका संवादकसमेत रहेका किमले आफ्नो सरकारलाई ‘एक प्रकारको तानाशाह’ को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो “सुडान सरकारले नागरिकसँग जनमत सङ्कलन त गर्छ, तर नागरिकसँग दूरी बढाउँदैछ, किनभने उसले अझै पनि नागरिकको कुरा सुन्दा सरकारी रवैयाप्रति वितृष्णा पैदा हुन्छ भन्ने सोचिरहेको छ ।”

सुडानी राष्ट्रपतिले सन् २०१४ मा जनतासँग संवाद शुरुगरेको स्मरण गर्दै किमले जनताका समस्यातिर लाग्दा आफ्नो तानाशाही प्रवृत्ति गुम्ला भन्ने डरले केही समयमै कार्यक्रम बन्द गरेको बताउनुभयो । “अहिले पनि जनताका समस्या गोप्य राख्दै आएको छ, सुडान सरकार जनताको वाक स्वतन्त्रतामा अङ्कुश लगाउन उद्धत देखिन्छ, नेपालमा यस्तो रहेनछ, हामीले पनि यस्तै चाहिरहेका छौँ” उहाँले भन्नुभयो ।

भूमि अधिकार मञ्चका अध्यक्ष रामबहादुर तामाङले भूकम्पपछि भूमिहीनको समस्यामा तीनै तहका सरकार समन्वयात्मक छलफलमा सहभागी भई उनीहरुका अधिकारमा उदार देखिएको अनुभव सुनाएपछि कार्यक्रममा उपस्थित अधिकांश सुडानी नागरिकले आफ्नो सरकारप्रति आक्रमक बन्दै ‘तानाशाह’को संज्ञा दिए । किमसहित २७ जना सुडानस्थित विभिन्न संवाद समूहका प्रनितिधि नेपालको शान्तिप्रक्रिया र संवाद समूहबारे बुझ्ने क्रममा आज यहाँ आइपुगेको हुन् ।

सुडानी नागरिक टोलीका अगुवा क्रिसले दक्षिणी सुडानमा सशस्त्र द्वन्दका समयमा जन्मेका ९हाल वयस्क रहेका० ले नेपालको शान्ति प्रक्रिया र द्वन्द व्यवस्थापनबारे गम्भीर रुपमा अध्ययन गर्न आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “उहाँहरु आफू द्वन्द्वमा जन्मिहुर्केको परिस्थिति र नेपालको सशस्त्र द्वन्द्व, शान्तिप्रक्रिया र द्वन्द्व व्यवस्थापनको अध्ययन उनीहरुलाई इतिहास लाग्नु स्वाभाविक हो, यो अध्ययन उनीहरुका लागि सुनौलो अवसर पनि बनेको छ ।”

अर्का सुडानी नागरिक जोनले सुडानमा ६६ प्रतिशत महिला रहेको र यसमध्ये ७२ प्रतिशत युवाको जनसङ्ख्या रहेको बताउँदै सुडानी राजनीतिक दल महिला र युवाप्रति अनुदार रहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “नेपाली आन्दोलनमा नेपाल युवा पङ्क्तिको अदम्य साहसलाई नेपाल सरकारले कदर गरेको पाइयो, यसबाट तीव्र विकास र समृद्धिको कल्पना गर्न सकिन्छ ।”

सुडानी नागरिक कोर्क, औरक, वीकाञ्जो, कोवल वर्थ, आइएकलगायतले युवा, महिला, अपाङ्गता तथा भूमिहीन वर्गको समस्यामा नेपाल सरकार उदार भएकामा खुशी व्यक्त गर्नुभयो । औरकले भन्नुभयो “हाम्रो अध्ययनमा पाइएनुसार नेपाल सरकारले समावेशीताका आधारमा सबै वर्गलाई समेटेको रहेछ, हामी हाम्रो देशमा यस्तै चाहान्छौँ ।” सो अवसरमा राष्ट्रिय युवा परिषद्का अध्यक्ष विपिन लामाले नेपालमा युवाको अवस्था र राज्यद्वारा युवाप्रतिको दायित्वबारे जानकारी गराउनुभएको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot