Logo

विप्लवलाई प्रतिबन्ध : कानुनी कि गैर कानुनी ?



चैत १, काठमाण्डौ । नेपालको संविधानमा कुनै पनि दल वा समुहलाई प्रतिबन्ध लगाउने व्यवस्था छैन । पछिल्लो समय सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ । कतिपयले यो प्रतिबन्धलाई गैर कानुनी भनेका छन् । तर चन्द नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता छैन ।

अर्कोतिर लोकतान्त्रिक मूल्य मान्यताविपरित नेकपाले बम विष्फोट र चन्दा आतंक मच्चाएकाले पार्टीलाई नभै त्यस्ता गतिविधिलाई प्रतिबन्ध लगाएकाले गैर कानुनी भन्न नमिल्ने अवस्था देखिएको छ ।

नेपालको संविधानले स्वतन्त्रतापूर्वक राजनीतिक दल खोल्न पाउने अधिकार मौलिक हकमा नै उल्लेख गरेको छ । सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि यससम्बन्धमा बहस सुरु भएको छ ।

कतिपयले चन्द नेतृत्वको नेकपाले बम विष्फोट र चन्दा असुली जस्ता अपराधिक गतिविधि गरेकाले प्रतिबन्ध लगाउनुलाई स्वभाविक रुपमा लिएका छन् भने कतिपयले दलमाथिकै प्रतिबन्ध गैर कानुनी भएको अथ्र्याएका छन् । सरकाले गतिविधिमा प्रतिबन्ध लगाएपछि अब विप्लवको नेकपाले सार्वजनिक रुपमा सभा, जुलुस, संगठन विस्तार आदि गर्न पाउने छैनन् ।

यस्तो अवस्थामा प्रहरीले पर्चा–पम्प्लेट वितरण, संगठन विस्तार, चन्दा संकलनलगायत सहयोग गरेमा पनि पक्राउ गर्न सक्नेछ । यसअघि नै प्रहरी प्रधान कार्यालयले मौखिक रुपमा विप्लवसहित शीर्ष नेताहरुलाई देख्यो कि समात्न निर्देशन दिइसकेको थियो ।

संविधानमा राजनीतिक दलमाथि प्रतिबन्ध लगाउन पाइने व्यवस्था नभएपनि चन्द समूह अपराधिक क्रियाकलापमा संलग्न रहेको र कतिपय घटनाको जिम्मेवारी लिएकाले प्रतिबन्धसम्बन्धी संविधान आकर्षित नहुने वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीको तर्क छ ।

सरकारले लगाएको प्रतिबन्ध दलमाथि नभै गतिविधिमाथि भएको ज्ञवालीले बताए ।

“नेपालमा लोकतान्त्रीक विधिअनुसार दर्ता भएको कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउन नपाइने व्यवस्था छ । तर चन्द नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता पनि भएको छैन । जस कारण दलमाथिको प्रतिबन्धसम्बन्धी संविधानको व्यवस्थाले छुँदैन ।” ज्ञवालीले भने ।

पछिल्लो समय चन्द नेतृत्वको नेकपाले देशका विभिन्न स्थानमा बम विष्फोट गराएको छ । जसका कारण एक जनाको त ज्यान गइसकेको छ भने केहीको उपचार भइरहेको छ ।

प्रहरीले पछिल्लो ११ महिनामा मुलुकका विभिन्न स्थानबाट ४ सय जनालाई पक्राउ गरेको छ । फागुन महिनामा मात्रै पाँच जना महिलासहित ५९ जना पक्राउ परेका छन् । उनीहरुमाथि चन्दा आतंक, धम्की, विस्फोटलगायतका कार्यमा संलग्न रहेको कसुरमा मु्द्दा चलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्