Logo

मेलम्चीको पानी दशैँमा ! ठेकेदार खोज्दै सरकार



चैत ४, काठमाण्डौ । इटालियन ठकेदार कम्पनी सिएमसीले हात झिकेपछि अलपत्र परेको मेलम्ची खानेपानी आयोजना अब कसरी निर्माण सम्पन्न गर्ने भन्ने समस्या देखिएको छ ।

करिब ५ प्रतिशत मात्रै काम बाँकी हुँदा सिएमसीले विभिन्न बहानामा हात झिकेपटि बाँकी काम सम्पन्न गर्न अर्को ठेकेदारको खोजी भइरहेको छ । बोलपत्र आह्वान गरेर काम सम्पन्न गर्ने जिम्मा दिने तयारीमा सरकार छ ।

जति सक्दो चाँडो मेलम्ची खानेपानी आयोजना सम्पन्न गरेर ठूलै काम गर्यौँ भनेर देखाउन हातारिएको केपी ओली नेतृत्वको सरकारलाई ठेकेदार कम्पनी सिएमसीले नराम्ररी झड्का दियो । अहिले बाँकी रहेको ५ प्रतिशत काम सम्पन्न गर्ने कम्पनीको खोजीमा सरकार छ । यसअघि पटक पटक आयोजना निर्माण सम्पन्न गर्ने भनेर मिति तोकेकी खानेपानी तथा सरसफाई मन्त्री विना मगरलाई यही आयोजना अलपत्र पर्दा आफू समग्रमा असफलल हुने हो कि भन्ने चिन्ता पनि छ ।

तर परिस्थिती अनुसार क्षमता देखाउन नसक्दा अन्तिम समयमा आएर नयाँ बोलपत्र आह्वान गर्नुपर्ने भएको छ । मेलम्ची खानेपानीको निर्माण कामहरु अधिकांश सम्पन्न भइसकेको छ । अन्तिम फिनिसिङलागयतका पाँच प्रतिशत बाँकी रहेको छ । अबको एकदुईदिनभित्र नै बोलपत्र आह्वान गर्ने मेलम्ची खानेपानी विकास समितिले दावी गरेको छ ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार खानेपानी वितरण गर्न बनाइएको सुरुङको अन्तिम चरणको काम बाँकी छ ।

बाँकी काम सम्पन्न गर्नका लागि केही दिनभित्रै बोलपत्र आह्वान गरेर जिम्मा दिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रराज पन्तले जानकारी दिएका छन् ।

विगतमा पटक पटक तोकिएको मितिमा काम नसकिए पनि आयोजनाले अर्को मिति घोषणा गरेको छ । तर प्रवक्ता पन्तले आगामी दशैँभित्रमा घरघरमा पानी वितरण गर्ने दावी गरेका छन् ।
जति नै दावी गरे पनि आगामी दशैँसम्ममा घरघरमा पानी वितरण हुनेमा विश्वास गर्ने आधार भने छैन । विगतको भोगाई र गराईका कारण कुनै पनि निकायले तोकेको समयमा काम सकिने विश्वास गर्न सकिने अवस्था छैन ।

यद्यपी मन्त्री विना मगरले यो आयोजना आफ्नो प्रतिष्ठासँग जोडिएको बताउँदै आएकी छिन् । यसअर्थमा मन्त्रालयले जसरी पनि काम सकेर पानी वितरण गर्ने कुरा प्राथमिकतामा राखेको हुन सक्छ । तर त्यसअनुसार काम गर्ने क्षमता भने अहिलेसम्म देखिएको छैन ।



प्रतिक्रिया दिनुहोस्