काठमाडौं, ५ चैत । गम्भीर मानवअधिकार उल्लंघन र ज्यादतीमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै डा. गोविन्द केसीले संयुक्त राष्ट्रसंघ र मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएका छन् ।
वि.सं. २०५२ सालदेखि २०६३ सालसम्म चलेको १० वर्षे हिंसात्मक द्वन्द्वको अवधिमा युद्ध अपराध, मानवताविरुद्धका अपराधलगायत अन्य जघन्य वा गम्भीर अपराधका घटना भएको तर ती घटनामा संलग्नहरुले एकपछि अर्को गर्दै उन्मुक्ति पाइरहेको भन्दै डा. केसीले न्यायका लागि आह्वान गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
तत्कालीन विद्रोही नेकपा माओवादी र राज्यका निकायसँग सम्बन्धित व्यक्तिको संलग्नतामा १७ हजारभन्दा बढी व्यक्तिको हत्या गरियो । हजारौं व्यक्ति बेपत्ता, अपहरण, यातना, अंगभंग, यौनजन्य हिंसा, विस्थापनलगायतका अपराधको शिकार बनाइएको जिकिर उनले गरेका छन् ।
देशभित्र संक्रमणकालीन न्यायको अवस्था कमजोर बनेको र देशभित्र न्याय नपाए स्वाभाविकरुपमा यो अन्तर्राष्ट्रिय न्यायको क्षेत्रभित्र पर्ने भन्दै त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्रा. डा. केसी, अधिवक्ता ओमप्रकाश अर्यालसहित चारजनाले बुझाएको ज्ञापनपत्रमा उक्त क्षेत्रको उपयोग गर्न पनि माग गरिएको छ ।