चैत ६, काठमाण्डौ । नेपालमा पछिल्ला वर्षहरुमा लागुपदार्थ ओसारपसार र यसका प्रयोगकर्ताहरुको संख्या तिव्र गतिमा बढि रहेको छ । नेपालका ७७ वटै जिल्लाका प्रहरी कार्यालयको तत्थ्याङक हेर्ने हो भने लागुऔषधका मुद्धाहरुको ठुलै चाङ देखिन्छ । प्रहरीका अनुसार नेपालमा पछिल्ला ५ वर्षमा लागुऔषधका घटनाहरुले झनै उचाई लिएको छ ।
सन् २०१४ देखि २०१८ सम्मको ५ वर्षको अवधिमा लागुऔषधमा संलग्न विदेशी सहित १८ हजार भन्दा बढी मानिस पक्राउ परिसकेका छन् । नेपालभरि यस अवधिमा १८ हजार भन्दा बढी लागुऔषध प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न पक्राउ परेको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको रेकर्डमा उल्लेख छ ।
सन् २०१४ मा दुई हजार ९ सय १८ जना, सन् २०१५ मा दुई हजार ६ सय ५६, सन् २०१६ मा तीन हजार ६ सय ९६, सन् २०१७ मा तीन हजार ९ सय ४१, सन् २०१८ मा चार हजार ८ सय ९८ जना, सन् २०१९ सुरु भैससके पश्चात पनि यो सँख्यामा थपिदै गएको छ । लागुऔषधको कारोबार गर्दै गर्दा पक्राउ पर्नेमा नेपाली सहित भारतीय, क्यानेडियन, फ्रान्सेली र चिनीयाँ लगायत देशका नागरिक समेत रहेका छन् जसमा भारतीय नागरिकको संख्य धेरै रहेको प्रहरीको तथ्यांक छ । भारतसँग खुला सीमाका कारण अन्तराष्ट्रिय लागुऔषध तस्करले नेपाललाई तस्करीका लागि ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्ने गरेका छन् ।
पेरु, ब्राजिल, लगायतका ल्याटिन अमेरिकी महादेशका अधिकांस राष्ट्रबाट नेपालमा कोकिन र हेरोइन आउने गरेको प्रहरीको अनुसन्धानले बताउछ । प्रहरीका अनुसार ती कोकिन र हेरोइन नेपालमा प्रयोग हुने भन्दा पनि छिमेकी मुलुक भारत, चीन, सिङ्गापुर, थाइल्यान्ड, हङ्कङ, मलेसियालगायतका पूर्वी एसियाका मुलुकमा तस्करी हुने गरेकोे छ । नेपालमा भने गाँजा, चरेस जस्ता पदार्थ तथा नरफिन, फेनारगन, डाइजापाम, बुफ्रिनोफाइनजस्ता औषधिजन्य लागुऔषधको प्रयोग बढी हुने गरेको लागुऔषध नियन्त्रण ब्युरोको रेकर्ड छ ।
लागुऔषधका लागि नेपालका भारतसँग सिमाना जोडिएका जिल्लाहरु विशेष हब बन्दै गएको प्रहरीको तत्थ्याङकले देखाउछ । लागुपदार्थ ओसारपसारकालागि पछिल्लो समय तराईको सप्तरी जिल्लापनि मुख्य हव बन्दै गएको पाईन्छ ।
प्रहरीको रेकर्ड हेर्नेहो भने यस जिल्लामा लागुऔषधका घटनाको ठुलै चाङ छ । खुला सीमाकै कारण तराईका अधिकांस जिल्लामा लागुऔषध प्रयोग कर्ता र कारोबारीको संख्या ह्वत्तै बढेको दाबी प्रहरीको छ ।