Logo

राजपा–फोरम एकता : हल्ला बढि, छलफल कम



चैत ८, काठमाण्डौ । केही दिनयता संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीचको एकताको चर्चा सुरु भएको छ ।

यी दुई दलले पार्टी एकताका लागि एकअर्कालाई आह्वान पनि गरिसकेका छन् । तर एकताका लागि केही शर्तहरु पनि अघि सारिएको बताइएको छ ।

एक वर्षसम्म सरकारलाई समर्थन गरेर मन्त्रीमण्डलमै सहभागि हुने आशा राखेको राजपाले रेशम चौधरी प्रकरणमा आक्रोषित भएर समर्थन फिर्ता लिएको घोषणा गर्यो । आफ्ना सांसद रेशम चौधरीलाई अदातले टिकापुर काण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेपछि आक्रोषित बनेको राजपाले समर्थन फिर्ता लिएको थियो ।

फोरमका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित एक मन्त्रालय सम्हालेर बसेका छन् । तर उनी आफैँ सरकारको आलोचना गर्न पछि पर्दैनन् ।

यस्तो अवस्थामा दुई दलको एकताका लागि फोरम पनि सरकारबाट बाहिरिनुपर्ने शर्त राजपाले राखेको छ ।

स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मूलधारको राजनीतिमा प्रवेश र सांसद रेशम चौधरीको जन्मकैदले मधेसका दुई ठूला दलको एकता चर्चा चुलिएको हो ।

फोरमले राजपालाई औपचारिक रूपमा एकताका लागि पत्र नै काटेको छ । राजपाका केही शीर्ष नेताले पनि फोरमसँग एकताका लागि सार्वजनिक कार्यक्रममा प्रस्ताव अघि सारेका छन् । तर एकताका लागि त्यसबाहेक प्रक्रिया अघि बढेको छैन ।

प्रदेश दुईमा मिलेर सरकार बनाएका फोरम र राजपा पछिल्लो समय धेरै मिलेको जस्तो देखिदैन । तर दुवैले तराई मधेशका एजेण्डालाई उठान गर्दै आएकाले जुनसुकै बेला एकता नगर्लान भन्न पनि सकिदैन ।



प्रतिक्रिया दिनुहोस्