Logo

ओली सरकार सफल कि असफल ? बहस



चैत ९, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीको सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै निरन्तर आलोचना भइरहेको छ । स्थायी सरकार, बहुमतको सरकार, कमजोर प्रतिपक्ष ।

तर पनि किन काम गर्न सकेन त ? विश्लेषकहरुको बुझाईमा सरकारको प्रकृति फेरिए पनि शाषकको शैली उस्तै छ । तर सरकारमा सहभागिहरुले भने आलोचना गर्नुपर्ने गरी सरकारले काम गर्न नसकेको अवस्था नरहेको जिकिर गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी आफैँमा शक्तिशाली दल बनेको छ । तत्कालिन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकता पछिको नेकपाले नै सरकार संचालन गरिरहेको छ । तर त्यही दलभित्रबाट पनि सरकारको आलोचना भइरहेको छ ।

सरकारले ठूला र मत्वाकांक्षी योजनाहरु सार्वजनिक गर्दै आएको छ । प्रधानमन्त्री केपी ओलीको बोलीलाई मान्ने हो भने त अझ धेरै सपनाहरु छरिइसकेका छन् । तर कम गर्ने शैलीमा कुनै परिवर्तन छैन । विगतमा भएको अस्थिर सरकारकै जस्तो अहिलेको स्थीर भनिएको सरकारको कार्यशैली छ । अर्थात नातावाद, कृपावाद, भ्रष्ट प्रवृत्ति अझै कायम हुनुले सरकार आलोचित भइरहेको छ । त्यति मात्रै होइन, शाषक वर्षले विलासी जीवन त्याग्न पनि सकेनन् ।

प्रधानमन्त्री केपी ओलीको दम्भ पनि कायमै रह्यो । प्रधानमन्त्रीले नै कामभन्दा बढि भाषण र अरुलाई कटाक्ष गर्नमै बढि समय विताएपछि केही भएका काम पनि ओझेलमा पर्ने गरेको छ ।

सरकार अर्थात सत्तापक्षले आलोचनालाई स्वीकार गर्न सकेको छैन । सरकारलाई सुझाब दिए पनि आलोचना गरे पनि त्यसलाई विरोधीको स्वरमा मात्रै सत्तापक्षले व्याख्या गर्ने गरेको छ ।

यता जनता भने पुरानै समस्या झेलिरहेका छन् । नेकपाको स्थायी सरकारबाट अहिलेसम्म अनुभूति गर्ने गरी केही काम नै नभएको जनताको गुनासो छ ।

सरकारको आलोचना र विरोध मात्रै भइरहेको छैन । बचाउ र प्रशंसा गर्नेहरु पनि छन् । तर जनताले यो सरकारबाट जे अपेक्षा गरेका थिए, त्यो प्राप्त नभएको भने पक्कै हो ।

सरकारले ५ वर्षभित्र गर्छु भनेको काम एक वर्षमै खै भनेर खोज्दा अर्को समस्या थपिएको छ । त्यसैले सरकार, विश्लेषक र जनता सबैले समयअनुसार आलोचना र समर्थन गरेर प्रभावकारी काम गर्न हौसला प्रदान गर्नु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot