Logo

‘सेना परिचालन विद्येयकबारे कांग्रेसले प्रोपोगाण्डा गर्यो’



काठमाडौं, १० चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वमन्त्री एवम् सांसद सोमप्रसाद पाण्डेले प्रधानमन्त्रीले एकल निर्णयमा सेना परिचालन गर्न सक्नेगरि सेना परिचालन विद्येयक ल्याउन लागेको भनेर प्रमुख प्रतिपक्षी दल कांग्रेसले राजनीतिक प्रोपागाण्डा गरेको आरोप लगाएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पाण्डेले कांग्रेसले ‘नन–ईस्यु’ उठाएर राजनीति गरिरहेको आरोप लगाएका हुन् । उनले भने,‘कांग्रेसले अहिले जे गरिरहेको छ, यो विल्कुलै राजनीतिक एजेण्डा होईन, राजनीतिक प्रोपोगाण्डामात्रै हो । कहिले गोविन्द केसीको कुरा उठाएको छ, कहिले के भनेको छ, अहिले आएर सेना परिचालनको नाममा कांग्रेसले नन–ईस्यु उठाएको छ । बास्तवमा भन्नुहुन्छ भने यो विद्येयक आजभन्दा २ वर्ष पहिले कांग्रेसकै पालामा ल्याईएको हो । तर, अहिले कांग्रेसले यसमा स्यालहुईँया देखायो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सेना परिचालनसम्बन्धी विद्येयकबारे कोही पनि द्धिविधामा पर्न नहुने स्पष्ट पारे । उनले भने,‘संविधानलाई अवेज्ञा गरेर सरकारले कुनैपनि काम गर्दैन् । सरकार संविधानको मर्म र भावनाअनुरुप नै अघि बढ्छ । जनताको स्पिरिटअनुसार नै अघि बढ्छ । यसमा कसैले शंका नगरे हुन्छ ।’

उनले प्रधानमन्त्रीले सेना परिचालन गर्न लागे भनेर राजनीतिक खेती गर्न लागिएको भन्दै त्यसको विरोध गरे । उनले भने,‘कसैलेपनि ठूलो स्वरमा अनावश्यक कुरालाई प्रोभोक नगरौं । उक्त विद्येयकका बारेमा २ वर्ष पहिले यो कुरा किन आएन ? सुरक्षा परिषदबिना प्रधानमन्त्रीले सेना परिचालन गर्न मिल्दैन् ।’

उनले सेनालाई खल्तीको विषय बनाउन नहुने धारणा राखे । उनले थपे,‘सेनालाई खल्तीको विषय बनाउनुहुँदैन् । सेनाको ईतिहास र गौरवमा हामी आँच आउन दिँदैनौं । यसमा शंका नगर्न आग्रह गर्दछौं ।’



प्रतिक्रिया दिनुहोस्