Logo

सेना परिचालन विद्येयक संशोधन गर्नुपर्छ, हामीसँग सल्लाह गरिएन : पूर्व रक्षामन्त्री प्रधान



काठमाडौं, १० चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले सेना परिचालनसम्बन्धी विद्येयक तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘विद्येयकको भाषा हेर्दा प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक बस्न नसक्ने अवस्थामा सेना परिचालन गर्न पाउनेगरि ल्याईएको छ । यसलाई सच्याउनुपर्छ । सेना यस्तो संयन्त्र हो, जोसँग हरेक सूचना हुन्छ । त्यसैले सुरक्षा परिषदको बैठक बस्न नसकेको खण्डमा प्रधानमन्त्रीले सेना परिचालन गर्ने भन्ने कुरा नै गलत छ ।’

प्रधानले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गरेर आफूमा शक्ति थोपर्ने काम गरिरहेको टिप्पणी गरे । उनले भने,‘भोलि प्रधानमन्त्री त्यस्तै कडा खालको पर्नुभयो भने सेना परिचालन गर्नेबारे के हुन्छ ? अहिलेका प्रधानमन्त्रीले पनि अधिकार एकीकृत गरिरहनुभएको छ । राजश्वदेखि लिएर राष्ट्रिय अनुशन्धानलाई आफू मातहात ल्याउनुभएको छ, अब अन्तिम हतियार भनेको सेना हो ।’

आफूहरुले उक्त विद्येयकलाई धेरै कुरा विचार गरेर रोकेको दाबी गरे । उनले भने,‘विषम परिस्थितिमा सेना परिचालन गर्ने भन्ने अनि सुरक्षा परिषदको बैठक बस्ने नसकेको अवस्थामा प्रधानमन्त्रीले सेना परिचालनको लागि मन्त्रिपरिषदमा प्रस्ताव गर्ने भनिएको छ, यो गलत कुरा हो ।’
उनले सेना परिचालनजस्तो महत्वपूर्ण विषयमा सरकारले प्रमुख प्रतिपक्षी दलसँग सल्लाह नै नगरेको जिकिर गरे ।

उनले भने,‘यस्तो विषयमा हामीसँग सरसल्लाह गर्नुपर्दथ्यो ।’ उनले नेकपाका नेता सोम पाण्डेले भनेजस्तो सेना परिचालन विद्येयक २ वर्ष पहिले कांग्रेसको पालामा नै ल्याईएको भन्ने कुरामा सत्यता नरहेको जिकिर गरे ।

उनले थपे,‘संघीय कानून नै बनेको छैन, अहिले प्रधानमन्त्रीलाई अप्रत्यक्ष रुपमा अधिकार दिन खोजिएको छ । हामीलाई यो कुरा मान्य छैन्। विद्येयक संशोधन गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्