Logo

यात्रुबाटै असुरक्षित ट्याक्सी चालक, हत्यारालाईसमेत कारबाही भएन



चैत १३, काठमाण्डौ । नेपालमा संचालित ट्याक्सी सेवा सधैँ आलोचनाको सिकार हुने गरेको छ । ट्याक्सी चालकको विशेषता नै यात्रुलाई ठग्ने हो भन्ने जस्ता गरी चर्चा गरिन्छ ।

तर तिनै ट्याक्सी चालकले भोग्नुपरेको समस्या प्रतिभने कसैको पनि ध्यान पुगेको छैन । काठमाण्डौ उपत्यकाका ट्याक्सी चालकहरु यात्रुबाटै कुटिनेदेखि मारिनेसम्मको घटना भइरहेको छ ।

उपत्यका ट्याक्सि व्यवसायि तथा चालक सघंले आफुहरु यात्रुबाटै असुरक्षित भएको भन्दै सरकारलाई ध्यानकर्षण गराएका छन् । सुरक्षा दिन खटिएका प्रहरीले ट्याक्सी चालक तथा व्यवसायीलाई जस्तोसुकै समस्या पर्दा पनि वेवास्ता गर्ने गरेको चालकहरुको गुनासो छ ।

काठमाडौ उपत्यकामा रहेका ट्याक्सि चालकले दैनिकजसो यात्रुहरुलाई ठग्ने गरेको गुनासो आईरहदा ट्याक्सि चालक भने यात्रुहरुबाटै असुरक्षित भएको गुनासो गर्छन् । उनीहरुको गुनासो यसकारण पनि जायज छ कि केही घटना केलाउँदा ट्याक्सी चालक असुरक्षित छन् भन्नुपर्ने हुन्छ ।

पछिल्लो एक वर्षमा मात्रै काठमाण्डौ उपत्यकामा ४३ जना ट्याक्सी चालक यात्रुबाट पिटिएका छन् । एक जनाको त हत्या नै भएको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सघंका अध्यक्ष सानु पूर्वछाने मगरले जानकारी दिए ।

दिनहु जस्तो ट्याक्सि चालकहरु कुटिने र मारिने गर्दा पनि सरकारले चासो नदिएको भन्दै व्यवसायीहरु आक्रोषित भएका छन् ।

जसले पनि हान्न मिल्ने फुटबलको रुपमा आफूहरुको भोगाई रहेको दुखेसो मगरले गरेका छन् ।

२०७४ साल असोजमा बा.१ ज .१०४० नम्बरको ट्याक्सि चालक यज्ञबहादुर खड्कालाई यात्रुले नै ढुङगाले किचिकिचि हत्या गरेका थिए । ति हत्यारा अझैसम्म पत्ता लाग्न सकेको छैन ।

गत सोमबार विहान मात्रै बा.२ ज ३२६६ नम्बरको ट्याक्सि चालकलाई यात्रुले नै कुटपिट गरेका थिए । उपत्यका ट्याक्सि व्यवसायि तथा चालक सघंकी उपाध्यक्ष तथा महिला ट्याक्सि चालक ईश्वरी थापाले दिनहु जस्तो घटेको घटनाले आफुहरु असुरक्षित भएको गुनासो गरिन् ।

यात्रुले मात्र नभै सडक र सवारी व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीहरु पनि गैर जिम्मेवार ढंगल प्रस्तुत हुने गरेको थापाको आरोप छ ।

सम्बन्धित निकायले यात्रु ठग्ने ट्याक्सी र चालक कुट्ने यात्रु दुवै पक्षलाई कानुनी दायरामा ल्याउनु जरुरी छ । काठमाण्डौ उपत्यकामा करिव ११ हजार ३ सय ८५ ट्याक्सि चालक रहेका छन् । उनीहरुबाट दिइने सेवालाई सहज र विवादरहित बनाउनु अहिलेको आवश्यकता हो ।



प्रतिक्रिया दिनुहोस्