Logo

प्रचण्ड स्वदेश फिर्ता, सीताको स्वास्थ्यमा सुधार



काठमाडौं, चैत्र १४। सत्तारुढ दल नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किनुभएकाे छ । पत्नी सीता दाहालको उपचारका लागि १० दिनअघि अमेरिका पुगेका प्रचण्ड बिहीबार बेलुका स्वेदश फर्किनुभएकाे हाे ।

स्वदेश फर्किएलगत्तै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै श्रीमती सीता दाहालको स्वास्थ्यमा निकै सुधार आएको बताउनुभयाे । प्रचण्डले भन्नुभयाे, ‘सीता दाहालको उपचारको काम सकेर एयरपोर्टमा आएको छु। म जाने बेला पनि मूख्यतः उपचारको निम्ति जाँदैछु भनेको थिए। केही राजनीतिक भेटघाट पनि हुन्छन् भनेको थिएँ। त्यहीअनुसार नै भेटघाट र कुराकानी भयो।’

अध्यक्ष प्रचण्डले पत्नी सीताको उपचारका लागि मूख्यतः ३ ठाउँमा अनुसन्धान र उपचार भएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘अमेरिकाका ३ ठाउँमा अनुसन्धान र उपचारको काम भयो। सीताको स्वास्थ्यको खास समस्या के हो ? भन्नेबारे डाक्टर मात्र होइन, चिकित्सा क्षेत्रका वैज्ञानिकहरुले पनि अनुसन्धान गरे। पहिल्यै सिङ्गापुरमा गरिएको अनुसन्धानको विकसित रुप नै रहेछ।’

अध्यक्ष प्रचण्डले सीताको शरीर र मस्तिष्कलाई फूर्तिलो बनाउने यन्त्र र औषधि लिएर आफूहरु फर्किएको बताउनुभयाे। उहाँले भन्नेनुभयाे, डाक्टरले २ क्याटगोरीका शरीरमा लाउने प्याज दिएका छन्। नयाँ औषधि दिएका छन्। यो रोगलाई पिएसपी भनिँदो रहेछ। अमेरिकाका डाक्टरहरु यसलाई क्यान्सरकै औषधिमार्फत् उपचार गर्न सकिनेबारे अन्तिम परीक्षणमा रहेछन्।’

‘आउने मे महिनासम्म त्यसबारे ‘भेरीफाइ’ भएपछि उक्त औषधि चलाउन सकिने सल्लाह दिएका छन्’ अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘सीताको स्वास्थ्यमा सुधार आएको छ। जर्ज क्राउन हस्पिटलको प्रयासले हामी धेरै नै आशावादी भएका छौं। उपचारको प्रक्रिया सकेर म नेपाल फर्किएको छु।’

‘म जहाजमै रहेको बेला मेराविरुद्ध मेरील्याण्डमा उजुरी परेको परेछ’ द्वन्द्वकालीन घटनाका विषयलाई लिएर नेपाली मूलका अमेरिकी नागरिक तिलक श्रेष्ठले दिएको उजुरीबारे स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘तर, मलाई जानकारी दिइएन। एयरपोर्टमा पुग्नेबित्तिकै मलाई भूमिगत रुपमै गन्तव्यसम्म पु-याउने व्यवस्था गरिएको रहेछ। मैले पछि थाहा पाएँ।’

अध्यक्ष प्रचण्डले अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की लगायतका नेपालीहरुले आफूलाई केही नहोस् भनेर सावधानी अपनाएको बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘राजदूत लगायतका साथीहरुले नै त्यो व्यवस्था गर्नुभएको रहेछ। उहाँहरुमा प्रचण्डलाई केही हुन्छ कि भन्ने चिन्ता रहेछ। हुनेवाला केही पनि थिएन। अमेरिकाले मेराबारे पहिले नै ‘नो इन्भेष्टिगेशन’ जारी गरिसकेको थियो।’

अमेरिका बसाइका क्रममा नेपाली समुदायसँग सघन कुराकानी भएको अध्यक्ष प्रचण्डले बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘उपचारको काम सकिएपछि अमेरिका बस्ने नेपालीहरुसँग राम्रो कुराकानी भयो। नेपालका बारेमा, २ देशको सम्बन्धका बारेमा सकारात्मक कुराकानी भयो।’

मेरिल्याण्ड राज्यमा नेपाली मूलका सांसद ह्यारी भण्डारीले आफू स्वागत गरेको अध्यक्ष प्रचण्डले बताउनुभयाे। भ्रमणका क्रममा नेपालका लागि पूर्वअमेरिकी राजदूत, अमेरिकी सरकारका विशिष्ट कर्मचारी र अमेरिकामा रहेका नेकपाका नेता–कार्यकर्तासँग पनि राम्रो कुराकानी भएको अध्यक्षले बताए। उनले नेपालको सशस्त्र युद्धबारे अमेरिकामा रहेको भ्रम निवारण भएकोसमेत बताउनुभयाे।

प्रचण्डले नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा बार्ता गर्नेबारे सैद्धान्तिक समझदारी भएकोसमेत जानकारी गराउनुभएकाे छ। उहाँले भन्नुभयाे, ‘नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा सम्वाद नभएको लामो समय भएको छ। अब उच्च तहमा राजनीतिक सम्वाद हुनुपर्छ भन्ने विभिन्न तहका छलफलमा कुराकानी भएको छ, त्यसका लागि हामी प्रयास गर्छौं।’

अब पार्टी एकताको कामले गति लिने उहाँले बताउनुभयाे। अध्यक्षले भन्नुभयाे, ‘म अमेरिका नगएको भए यतिञ्जेल पार्टी एकता टुंगोमा पुग्थ्यो। अब हामी पार्टी एकतालाई गति दिन्छौं। केही दिनमा एकता प्रक्रिया टुंगिन्छ।’



प्रतिक्रिया दिनुहोस्