Logo

डीएनए मै अड्किएको निर्मला प्रकरण : प्रहरी असफल हुनुको यस्तो छ कारण



चैत १६, काठमाण्डौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले धेरैलाई पक्राउ गर्यो । तर वास्तविक हत्यारा पत्ता लगाउन भने असफल भएको छ ।

पक्राउ परेका मध्यबाट प्रहरिले प्रमाणको मुख्य आधार मान्ने डिएनए परिक्षण पनि ६० जनाको गरिसक्यो । कसैको डीएनए नमिलेपछि प्रहरि अनुसन्धानको आधार पनि कमजोर बन्दै गएको छ ।

निर्मला पन्तको हत्याराको अनुसन्धानका लागि प्रहरीको थुप्रै टोली कञ्चनपुर पुग्यो । घटना भएको जिल्ला कञ्चनपुरमै दुई जना प्रहरी प्रमुख फेरिइसकेका छन् तर, अझै हत्यारा पक्राउ परेका छैनन् । प्रहरीले शंका लागेका ६० जनाभन्दा बढीको डीएनए जाँच पनि गर्यो । तर हत्यारा पत्ता लागेन ।

नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण हुन थालेको ५ वर्ष यता एउटै घटनामा सबैभन्दा धेरै डीएनए परीक्षण गरिएको घटना निर्मला पन्त बलात्कार प्रकरण हो । निर्मला हत्या प्रकरणमा प्रहरीको लागि डीएनए परिक्षण नै अनुसन्धानको सबैथोक बन्यो । तर त्यो पनि सफल हुन सकेको छैन । केन्द्रीय अनुसन्धान ब्युरो र कञ्चनपुर प्रहरी मिलेर अनुसन्धान गरिरहेको प्रहरीका कार्यकारी प्रवक्ता उमेशराज जोशीले बताए ।

गएको साउन १० गते बलात्क्रित भएर हत्याको सिकार भएकी १३ वर्शिय किशोरिको हत्यारा पत्ता नलागेपछी र प्रहरिले नै प्रमाण नस्ट गरेपछी ब्यापक रुपमा निर्मलाको न्यायको लागि जनआवाज उठ्यो । तर हत्यारा पत्ता नलाग्दै त्यो आवाज पनि कमजोर बन्दै गएको छ । अनुसन्धानका क्रममा पक्राउ परेका दिलिप सिंह विष्टदेखि प्रदीप रावलसम्मले प्रहरीको दबावमा अभियोग स्वीकार गरे । तर, उनीहरुको डीएनए म्याच नभएपछि निर्दोष भनेर छोडियो । अरुलाई पनि पक्राउ गरी गरिएको अनुसन्धान टुङ्गोमा पुग्न नसकेको जोशी बताउँछन् ।

तत्कालिन कञ्चनपुर प्रहरी र अनुसन्धानका लागि काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले प्रमाण नष्ट गरेको आरोपमा सरकारले तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्ट बर्खास्त नै भइसकेका छन् भने ब्युरोका डीएसपी अंगुर जिसी निलम्बित छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot