Logo

कनकाईमा ऐलानी जग्गाको लगत सङ्कलन



भद्रपुर, २० चैत : झापामा पहिलोपटक कनकाई नगरपालिकाले नगरका नौ वटै वडाको ऐलानी जग्गाको लगत सङ्कलन शुरु गरेको छ । वर्षौँदेखि जोतभोग गरिरहेका तर लालपुर्जाविहीन जग्गाधनीलाई सो वितरणका लागि ऐलानी जग्गाको लगत सङ्कलन गरिएको हो ।

नगरपालिका प्रमुख राजेन्द्र पोखरेलले नगरका ११ हजार घरधुरीमध्ये पाँच हजार बढी घरधुरी लालपुर्जाविहीन रहेको हुँदा पहिलो चरणमा उनीहरुको लगत सङ्कलन गर्ने काम शुरु गरेको बताउनुभयो ।

एक हप्ताभित्रमा लगत सङ्कलन शुरु गरिसक्ने योजना रहेको सुनाउँदै उहाँले भन्नुभयो, “स्थानीय सरकार सञ्चालन ऐनले सार्वजनिक, ऐलानी जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । सोहीअनुसार कानूनको मस्यौदा तयार गर्दैछौँ ।”

उहाँले सार्वजनिक महत्वका जग्गाहरुको नगरले संरक्षण गर्ने र ५०औँ वर्षदेखि भोगचलन गर्दै आएका व्यक्तिको पहिचान गरी उनीहरुलाई लालपुर्जा वितरण गर्न पहल गर्ने योजना रहेको बताउनुभयो । यतिबेला नगरपालिकाका हरेक वडामा लालपुर्जाका लागि लगत दिनेको भीड छ ।

प्रहरी भवन शिलान्यास

इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाको कार्यालय भवनको मङ्गलबार शिलान्यास गरिएको छ । रु तीन करोडभन्दा बढीको लागतमा निर्माण हुन लागेको हो ।

शिलान्यास कार्यक्रममा प्रदेश नं १ का आन्तरिक तथा कानूनमन्त्री हिक्कत कार्कीले प्रहरीलाई प्रविधिमैत्री र भौतिक पूर्वाधार सम्पन्न बनाउन प्रदेश सरकारको आर्थिक लगानीमा भवन बन्न लागेको बताउनुभयो । उहाँले आन्तरिक सुरक्षाको अग्रपङ्क्तिमा रहने प्रहरी भौतिक, मानसिक र शारीरिकरूपमा सम्पन्न भए मात्र आम नागरिकहरुले सुरक्षाको प्रत्याभूति पाउन सक्ने र विकास निर्माणका काममा समेत तीव्रता आउने बताउनुभयो ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख केदार रिजालले सीमा नाकामा खटिने प्रहरीले देशकै सुरक्षास्थितिको प्रतिनिधित्व गर्ने हुँदा प्रहरीलाई सुविधा सम्पन्न कार्यालय भवन बनाउन सहयोग गरेकोमा प्रदेश सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

पूर्वी नाकाको सीमा क्षेत्रमा बन्न लागेको तीनतले भवन २२ कोठाको हुने इलाका प्रहरी काँकडभिट्टा प्रहरी नायब उपरीक्षक महेश थापाले बताउनुभयो । उहाँका अनुसार दुई कोठा हिरासतका लागि निर्माण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्