Logo

कामपाको विकासमा प्रदेश सरकारले सघाउने



हेटौँडा, २० चैत / प्रदेश नं ३ सरकारले काठमाडौँ महानगरभित्रको अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने आश्वासन दिएको छ ।

आगामी आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाको विकासमा तर्फबाट गरिने सहकार्यसम्बन्धी काठमाडौँ महानगरपालिका र प्रदेश सरकारबीच भएको अन्तरक्रियामा मुख्यमन्त्री पौडेलले कामपाको सफाइका लागि प्रदेश सरकारले ब्रुमर तथा आपत्कालीन अवस्थाका लागि दमकल, एम्बुलेन्सलगायत उपलब्ध गराउने आश्वासन दिएको प्रदेशसभा सदस्य दीपक निरौलाले जानकारी दिनुभयो ।

मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौँका प्रतिनिधिसभा सदस्य कृष्ण राई, महानगर प्रमुख विद्यासुन्दर शाक्य, महानगरभित्रका प्रदेशसभा सदस्यको समेत उपस्थितिमा यहाँ मङ्गलबार भएको अन्तक्र्रियामा देशकै राजधानी काठमाडौँलाई सफा र सुन्दर बनाउने, वाग्मती– विष्णुमतीलाई स्वच्छ नदीका रुपमा विकास गर्ने, काठमाडौँको साना विकासका परियोजना महानगर आफँैले र ठूला एवं मेगा प्रोजेक्टमा प्रदेश सरकारले सहयोग गर्नेसम्बन्धी छलफल भएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले विगतमा विद्युतीय बस सञ्चालन गर्नेसम्बन्धी भएको सम्झौतानुसार शेयर खरीदमा भएको ढिलाइको सम्बन्धमा जिज्ञासा राखेको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।

“मुख्यमन्त्री साना तथा टुक्रे योजनाले देश परिवर्तन गर्न नसकिने कुरामा विश्वस्त हुनुहुन्छ, त्यसैले ठूला र मेगा प्रोजेक्टमार्फत काठमाडौँलाई व्यवस्थित र सुन्दर शहर बनाउने उहाँको योजना छ” , निरौलाले भन्नुभयो, “आगामी आर्थिक वर्षमा प्रदेश सरकारले काठमाडौँमा आधुनिक तथा व्यवस्थित शहर निर्माणका लागि योजना निर्माण गर्नेछ ।” रासस



प्रतिक्रिया दिनुहोस्