पोखरा,२३ चैत : कास्की अन्नपूर्ण गाउँपालिका–८ दाङसिङमा रहेको बाहाकोट मेश्रमबराह मन्दिर पुनःनिर्माण गरिएको छ । सो गाउँको उच्चस्थानमा रहेको उक्त मन्दिर जीर्ण भई पूजाआरधना गर्न आउने भक्तजनलाई समेत अप्ठेरो परेपछि दाङसिङ पोखरा गुरुङ सम्पर्क समाजको सक्रियतामा रु आठ लाखको लागतमा पुनःनिर्माण गरिएको हो ।
सो गाउँमा जन्मेर विभिन्न पेशा, व्यवसाय एवं रोजगारको सिलसिलामा स्वदेश तथा विदेशमा रहनुभएका महानुभावको सक्रियतामा उक्त रकम सङ्कलन गरिएको बाहाकोट मेश्रम बराह मन्दिर निर्माण समितिका सदस्य राजुकुमार गुरुङले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष वैशाख महीनामा सो मन्दिरमा सामूहिक पूजा गर्ने प्रचलन रहेको बताउँदै उहाँले भन्नुभयो, “मन्दिरमा भेडा र बोकाको बलि दिने चलन छ ।” भक्तजनलाई आवतजावतमा सुविधा प¥याउने उद्देश्यले बाटोमा ढुङ्गा छापेर पैदलमार्गसँगै रेलिङबार निर्माण एवं मन्दिर परिसरमा ट्रष्ट भवन निर्माण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
दुई महीनाअधि स्थानीय बासिन्दाको भेलाले चिज गुरुङको अध्यक्षतामा पाँच सदस्यीय मन्दिर पुनःनिर्माण समिति गठन गरिएको थियो । पुनःनिर्मित सो मन्दिरको आगामी वैशाख ३ गते पूजासहित विधिवत्रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।
कास्कीको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा परिचित नयाँ पुल, वीरेठाँटी हुँदै दाङसिङ गाउँसम्म मोटर बाटोको सुविधा पुगेको छ भने उक्त गाउँबाट लगभग एक घण्टाको पैदलयात्रा पश्चात मन्दिर पुग्न सकिन्छ । रासस