Logo

प्रदेशसभा बैठक सम्पन्न



विराटनगर, २४ चैत । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमो पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१) ख बमोजिम सो प्रस्ताव आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पेश गर्नुभएको थियो ।

‘प्रदेश पर्यटन विकास विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफल आज समाप्त भएको छ भने सो सम्बन्धमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले विधेयकमा उठेका प्रश्न र छलफलले विधेयकलाई पूर्णता दिन मद्दत पुगेको विचार व्यक्त गर्नुभयो ।

शून्य समय

प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङ्गामले संसद कोषमा विनियोजित रकम खर्च गर्न प्रदेश सरकारले अविलम्ब खर्च गर्न अख्तियारी दिनुपर्ने माग गर्नुभयो । उहाँले समयमा बजेट खर्च गर्न अख्तियारी नमिले भ्रष्टाचार मौलाउने, कामको गुणस्तर नहुने भन्दै भ्रष्टाचारलाई नियन्त्रण गर्न सबै सदस्यको सक्रियताको खाँचो औँल्याउनुभयो ।

सदस्य रामचन्द्र लिम्बूले धनकुटामा रहेको आयुर्वेद अस्पताललाई समयानुकूल सुधार गर्न र सो अस्पताललाई अन्यत्र नसार्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले रक्सी खाने लतमा रहेका मानिसले छुट्कार पाउन अस्पताल जाँदा चिकित्सकले नेपाल सरकारले प्रतिबन्ध लगाएको लारोजेपाम औषधि खुल्ला गर्न र सोका लागि उपचार गर्ने अस्पताल तथा चिकित्सकको इजाजतपत्र धरौटीमा राख्न सुझाव दिनुभयो । प्रदेशसभाको अर्को बैठक यही चैत २७ गते दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्