चैत २५, काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो सदर चिडियाखानामा वर्षौदेखि एकै किसिमको दृश्य देखिन्छ । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाना राजधानी तथा राजधानी बहिरबाट दैनिक हजारौको संख्यामा अवलोकनकर्ताको भिड लाग्ने गर्छ । तर चिडियाखाना व्यवस्थित बन्न सकेको छैन । पछिल्लो समय त उद्धार गरेर ल्याइएका घाइते जनावरसमेत चिडियाखानामा नै थुपार्ने गरिएको छ ।
सदर चिडियाखाना नेपालको एक मात्र चिडियाखाना हो । यो ललितपुर जिल्लाको जाउलाखेलमा अवस्थित छ । सदर चिडियाखानाको स्थापना बि.सं. १९८९ मा तत्कालिन प्रधानमन्त्री जुद्ध शमसेरले निजि चिडियाखानाको रुपमा स्थापना गराएका थिए ।
यो १९५० मा नेपाल सरकारले आफ्नो स्वामित्वमा लिएको थियो तर १९५६ मा मात्र यो सर्वसाधारणको लागि खुल्ला गरिएको थियो । यति लामो इतिहास बोकेको चिडियाखाना समयअनुसार परिवर्तन भने हुन सकेको छैन । बच्चा देखि बृद्धाहरुसम्मले अबलोकलन गर्न रुचाउने चिडियाखानामा पहिलेको तुलनामा अहिले जनावर तथा पशुपक्षी पर्याप्त नभएको अवलोकनकर्ताको गुनासो छ ।
चिडियाखानाका केही स्थान मर्मत गर्ने भन्दै लामो समयदेखि अलपत्र जस्तै छ । यसले पनि दर्शकलाई खल्लो बनाउने गरेको छ । चिडियाखानाबाट जे अपेक्षा गरिएको त्यो नपाइएको उनीहरु बताउँछन् ।
यता चिडियाखाना कार्यरत कर्मचारी पनि सन्तुष्ट छैनन् । सरकारले व्यवस्थ्ति र आधुनिक बनाउनका चासो नदिएको गुनासो गर्ने गरेका छन् । पछिल्लो समय त विभिन्न स्थानमा घाइते भइ उद्धार गरिएका जनावरसमेत यही चिडियाखानामा ल्याएर थुपार्ने गरिएको त्यहाँका सुचना अधिकारी लिला चालिसे बताउनुहुन्छ ।
विभिन्न प्रजातिका वन्यजन्तु राख्नुपर्ने चिडियाखाना साँघुरो भएको छ । अहिलेको यो ठाउँ पनि उचित छैन । बढ्दो शहरीकरणपछि चिडियाखानालाई भक्तपुरको सूर्यविनायकमा स्थानान्तरण गर्ने योजना पनि ल्याइएको थियो । तर यो योजना सफल हुन सकेको छैन ।
करिब ६०० हेक्टरमा फैलिएको यस चिडियाखानामा १ सय १८ प्रजातिका १ हजार ५९ जन्यजन्तु तथा पशुपक्षी रहेका छन् । यी मध्ये स्तनधारी जनावर ३३ प्रजातीका २ सय ६४ वटा छन् भने, सरीसृप ९ प्रजातीका ३१ वटा छन् । त्यस्तै जलप्राणी २४ प्रजातीका ७० वटा रहेका छन् । ५२ प्रजातीका चराचुरुङगीको जम्मा संख्या ६९४ वटा रहेको छ ।