चैत २६, काठमाण्डौ । आज २९ औं जनआन्दोलन दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । २०४६ सालको शान्तिपूर्ण जनआन्दोलन मार्फत प्रजातन्त्रको पुनर्बहाली भएको ऐतिहासिक दिनको सम्झनामा चैत २६ गते जनआन्दोलन दिवस मनाउने गरिन्छ ।
३० बर्षिय पञ्चायती व्यवस्था ढलेको दिनको सम्झनामा मनाइने यो दिवसलाई नेपालका सबैले स्वीकार गरेका छन् । बि.सं २०४६ सालमा राजनीतिक दलहरुको प्रदर्शन चर्किएपछि तत्कालिन राजा बीरेन्द्रले आजकै दिन बहुदलीय व्यवस्थाको घोषणा गरेका थिए ।
त्यसैले चैत २६ लाई बहुदलीय व्यवस्था स्थापना भएको दिवसको रुपमा सम्झना गर्ने गरिन्छ ।
२०४६ को आन्दोलनले राजनीतिक स्वतन्त्रतासँगै वाक तथा अभिव्यक्ति स्वतन्त्रता पनि दिएको थियो ।
गणेशमान सिंह नेतृत्वको अहिंसात्मक आन्दोलन थियोे । शान्तिपूर्ण सत्याग्रही आन्दोलनबाटै शासकलाई घुँडा टेकाउन सकिने महत्वपूर्ण नजिर स्थापित भएको थियो ।
०४६ को आन्दोलनमा छिमेकी भारतको पनि सहयोग थियो। गणशेमान सिंहको चाक्सीबारीस्थित निवासमा त्यसबेला भारतीय नेता चन्दशेखरलगायतले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए। आन्दोलन उत्र्कषमा पुगेको यही दिनको स्मरणमा राजनीतिक दलहरूले जनआन्दोलन दिवस विविध कार्यक्रमसहित मनाउँछन्।
तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते शाही घोषणा मार्फत मुलुकको शासन सत्ता आफ्नो हातमा लिएपछि २०६२ सालमा पनि सात दलले चैत २६ गतेदेखि नै निर्णायक आन्दोलन सुरुवात गरेका थिए ।