Logo

सरकारी चिकित्सकविरुद्ध खनिए मन्त्री पण्डित, बल प्रयोग गरेर अस्पताल चलाउने चेतावनी



धनगढी, २८ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आन्दोलनरत चिकित्सकहरुको विरोधमा कडा रुपमा प्रस्तुत भएका छन् । उनले सरकार कसैको पनि दया माया नगरेर कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका हुन् ।

प्रेस क्लव धनगढीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बल प्रयोग गरेर भए पनि देशभरका अस्पताल संचालन गर्ने बताए । मन्त्री पण्डितले कानुन अनुसार सरकारले डाक्टरलाई कारवाही गर्न सुरु गरिसकेको बताए ।

पेशागत मर्यादा भन्दा बाहिर गएर राखेको माग पुरा नहुने बताउँदै उनले डाक्टरहरुले संघ रोज्नुको कारण साइन बोर्ड देशभर राख्ने तर आफु काठमाडौँमा बस्ने योजना रहेको आरोप लगाए । राष्ट्रको सामु खाएको सपथ अनुसार अगाडि नबढेमा सरकारले कारवाही गर्ने बताउदै उनले सरकारले सेवा सुविधासहित पठाएको ठाउँमा डाक्टर जानुपर्नेमा जोड दिए ।

 



प्रतिक्रिया दिनुहोस्