काठमाडौं, २९ चैत । सांसद हृदेश त्रिपाठीले नेपालकै ईतिहाँसमा चर्चित र ठूलो मानिएको वाईडबडी जहाज खरिद प्रकरणमा प्रमुख तीन ठूला दलका शीर्ष नेताहरु संलग्न रहेको आरोप लगाएका छन् ।
उनले वाईडबडी जहाज खरिद भ्रष्टाचारमा वर्तमान सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संलग्न रहेको सनसनीपूर्ण खुलासा गरेका छन् । वाईडबडी जहाज खरिद खोटाला प्रकरणमा छानबिन गर्न बनेको संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिका सदस्यहरुलाई तीनका पार्टीका अध्यक्षहरुले सात्तो खाएको र अहिलेसम्म ती सदस्यहरुको सात्तो नफर्किएको पनि उनले टिप्पणी गरे ।
शुक्रबार राति प्राइम टाइम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । फरक प्रसँगमा उनले नेपालका संवैधानिक आयोगहरु निकम्मा भएको पनि गम्भिर आरोप लगाएका छन् । उनले भने,”दलीय भागबण्डाका आधारमा नियुक्ती हुने भएकोले अख्तियार अनुशन्धान आयोग, निर्वाचन आयोग, लोकसेवा आयोग सबै निकम्मा भएका छन् । यिनीहरुलाई खारेज गर्नुपर्छ ।”
राज्यको परिभाषाअनुसार नेपालले आधुनिक राज्य निर्माण नगरेको पनि उनले बताए । संविधानमा पनि अनगिन्ती त्रुटी रहेको उनको आरोप छ । उनले भने,”यो संविधान त त्रुटीहरुको बण्डल नै हो ।” संसारमै नभएको संसदीय व्यवस्था नेपालमा भएको उनको टिप्पणी छ ।