Logo

सरकारले नै हामीलाई अपहेलित गर्यो, स्वास्थ्य मन्त्रालयले षड्यन्त्र गर्यो : डा. भट्टराई



काठमाडौं, २९ चैत । आन्दोलनरत सरकारी चिकित्सक संघ नेपाल, सघर्ष समितिका उप–संयोजक डा. सुशिलमोहन भट्टराईले स्वास्थ्य मन्त्रालयले आफुहरुमाथि षड्यन्त्र गरेको आरोप लगाए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले मन्त्रालयले आफुहरुको अभिभावकत्व निर्वाह गर्न नसकेको गुनासो पोखे । उनले सरकारी चिकित्सकहरुलाई सरकारले नै अपहेलित गरेको आरोप लगाए ।

उनले भने,‘हामी अति भएर छताछुल्ल भएका हौं । बाध्य भएर आन्दोलन गरेका हौं ।’ स्वास्थ्य मन्त्रालयले षड्यन्त्र गरेको र गिरोहको रुपमा काम गरेको पनि उनले गम्भिर आरोप लगाए । भट्टराईले सरकारी चिकित्सक परिवर्तनको संवाहक भएको बताए । आफूहरु समायोजनमा जान तयार रहेको भएपनि अहिले प्रदेश र स्थानीय तह अपरिपक्व रहेको उनले बताए । उनले सरकारले सरकारी चिकित्सकहरुलाई धराशयी बनाउने काम गरेको अर्को आरोप लगाए ।

संघीयताको मोडल परीक्षणको नाममा आफूहरुलाई बलीको बोको बनाउन खोजिएको उनको आशय थियो । उनले भने,‘एक्सपेरिमेन्टको रुपमा हामीलाई मुसा बनाउने काम भएको छ ।’ समायोजनको नतिजा आगामी दश वर्षपछि देखिनेपनि उनले सुनाए । सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउन नसकेको पनि उनले टिप्पणी गरे ।

उनले आफूहरुलाई समायोजनको नाममा एउटै तहमा थन्काएर जेलमा हाल्न नपाईने तर्क गरे । उनले भने,‘हामीलाई वैज्ञानिक तवरले समायोजनमा हाल्नुपर्छ । फोकल गरेर पठाउनुपर्छ ।’ आफूहरु संघीयताविरोधी नभएको पनि उनले स्पष्ट पारे । उनले भने,‘हाम्रो राजनीतिक मुद्दा होईन, र हामी राजनीति पनि बुझ्दैनौं । हामी संघीयताको पक्षपोषण पनि गर्दैनौं र विरोध पनि गर्दैनौं ।’



प्रतिक्रिया दिनुहोस्