काभ्रेपलाञ्चोक, ३० चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र विकास बोर्डलाई नेपाल चलचित्र महासङ्घका रुपमा विकसित गरिने बताउनुभएको छ ।
तामाङ चलचित्र सङ्घद्वारा काभे्रपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेंसीमा जारी तामाङ चलचित्र महोत्सवलाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “चलचित्र विकास बोर्ड अवैज्ञानिकरुपमा छ, त्यसलाई सुधारसँगै बोर्डबाट नेपाल चलचित्र महासङ्घका रुपमा विकसित गरिन्छ ।”
उहाँले विभिन्न चलचित्र सङ्घलाई एउटै संस्थामा आबद्धता गराउन छाता सङ्गठनका रुपमा महासङ्घ बनाउन लागिएको बताउनुभयो । मन्त्री बाँस्कोटाले चलचित्र महासङ्घ बनाउन त्यससम्बन्धी कानूनी मस्यौदा तयार भइरहको बताउनुभयो ।
“नयाँ आर्थिक वर्षको प्रारम्भसँगै चलचित्र महासङ्घको नयाँ कानून आउनेछ, यसका लागि चलचित्रका विज्ञसँग छलफल गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “विविध भाषाभाषी रहेको मुलुकमा आफ्नै भाषा, मौलिकता र संस्कृति झल्कने चलचित्र बनाउनु उत्साहप्रद छ ।”
त्यस्ता चलचित्र बनाउन तत्सम्बन्धी संस्कृतिविद् आवश्यक पर्ने भन्दै उहाँले कानून बनाउने प्रक्रियामै रहेकाले विभिन्न संस्कृतिका विज्ञको सल्लाह लिने काम भइरहेको बताउनुभयो ।
उहाँले पाँच प्रतिशत तामाङ समुदायको बसोबास रहेको उल्लेख गर्दै मुलुकका विविध समुदायले नेपालका हलमा वर्षको १८० दिन चलचित्र प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।
सांसद गङ्गाबहादुर दोङ, नमोबुद्ध नगरपालिकाका प्रमुख टङ्कप्रसाद तिमल्सिना, सङ्घका पूर्वअध्यक्षद्वय जेनिश दोङ र अशोक ब्लोनले महोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । तीनदिने महोत्सवमा पाँच तामाङ भाषाका चलचित्र प्रदर्शन गरिने सङ्घका अध्यक्ष विकु थोकरले जानकारी दिनुभयो । रासस