काठमाडौं, २ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् पूर्व मन्त्री राजकिशोर यादवले वर्तमान सरकार शान्ति, सुव्यवस्था र समृद्धि हाँसिल गर्नेतर्फ अग्रसर नभएको आरोप लगाएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘धेरै लामो समयपछि मुलुकले स्थिर र बहुमतको सरकार पाएको छ । तर, सरकारले सोहीअनुरुप काम गर्न सकेको छैन् । सरकारलाई दोष थोपरेर उम्किन खोजेको होईन । तर, सरकारको व्यवहार नै त्यस्तो छ ।’
पछिल्लो समय विकासको नाममा कतै विनाशमात्रै त भैरहेको छैन ? भन्नेबारे पनि चर्चा गर्न आवश्यक रहेको उनको भनाई छ । उनले २०७६ सालमा मुलुकको सर्वाङ्गीण विकास कसरी हुन्छ भन्नेबारे वैचारिक रुपमा बहस गर्नुपर्नेपनि आवश्यकत्ता औंल्याए । उनले भने,‘विचारबिनाको विकास कसरी हुन्छ ?’
आजभन्दा अगाडि ‘हरियो बन, नेपालको धन’ भन्ने नेपालको अवस्था रहेको सुनाउँदै उनले भने,‘तर, आज विश्व ग्लोबल वार्मिङका कारण चिन्तित छ । विश्कै शक्तिशाली देशहरुपनि यसबारे चिन्तित छन् । हामी पनि यसबाट प्रताडित हुने अवस्था छ । अहिले हाम्रो वनको अवस्था के छ ?’
उनले नेपालका नेताहरुको विचित्रको रोग भनेको नै मञ्च पाएपछि भाषण ठोक्ने भएको उल्लेख गर्दै नेपाललाई नेपालजस्तो बनाउनुपर्ने बताए । उनले भने,‘हामी सिंगापुर र स्विट्जरल्याण्ड बनाउँछौं भन्छौं । तर, नेपाललाई नेपालजस्तो बनाउँछौं भनेर हामीले कहिल्यैपनि सार्वजनिक प्रतिबद्धता गरेनौं । यो अत्यन्तै दुःखदायी कुरा हो ।’
जनतालाई उत्तेजित पारेर नितान्त दलीय स्वार्थ पूरा गर्ने काम नेपालका दल र यसका नेताहरुबाट भएको उनको स्विकारोक्ति थियो । उनले भने,‘नेपालको अहिलेको अर्थ राजनीति, सामाजिक अवस्था अत्यन्तै चिन्ताजनक छ ।’
वर्तमान सरकारले हिजोकोभन्दा आज फरक काम गरेको भन्ने अनुभूति दिलाउनुपर्ने पनि उनले जोड दिए । वर्तमान सरकार फरक विचार राख्नेलाई जाईलाग्ने प्रवृत्तिमा देखिएको पनि उनले आरोप लगाए । उनले भने,‘सरकारको यो कदमले लोकतान्त्रिक प्रक्रिया नै अवरुद्ध भएको छ ।
उनले अहिलेको सरकार विगतको सरकारभन्दा फरक भएकोले यो सरकार आएसँगै नेपाली जनताको जीवनमा के–के फरक पर्यो भन्ने कुरा देखाउनुपर्ने पनि स्पष्ट पारे ।
यादवले राजपाले अब गर्ने आन्दोलनमा विचार मिल्नेहरुसँग सहकार्य गर्नेपनि जानकारी दिए । उनले भने,‘बडो प्रतिकुलताको अवस्थामा पनि हामीले यो सरकारलाई समर्थन जारी राख्यौं । तर, एक वर्षसम्मपनि केही नभएपछि हामीले सरकारलाई दिएको समर्थन फिर्ता लियौं ।’
सरकारलाई सचेत गराउने उद्देश्य बोकेर नै आफूहरुले दबाबमूलक कार्यक्रम अघि सारेको उनको स्पष्टोक्ति थियो । उनले भने,‘हाम्रो आन्दोलनलाई परीणाममुखी बनाउनको लागि विचार मिल्नेहरुसँग एकता र सहकार्य गर्छौं ।’
आफूहरु पार्टीको एकता महाधिवेशनमा जुटेको पनि उनले जनाए । उनले भने,‘महाधिवेशनको तिव्र तयारीमा छौं । अहिले संगठनलाई बलियो बनाउनतिर हामी लागेका छौं ।’