काठमाडौँ, ६ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित गरेको छ ।
जारी सिजनमा यी दुई टोलीबीच दोस्रो भेट भएको हो । अघिल्लो भेटमा दिल्लीले मुम्बईलाई उसकै घरेलु मैदानमा पराजित गरेको थियो भने गएराति मुम्बईले दिल्लीलाई उसकै घरेलु मैदानमा पराजित गरी बदला लिएको छ ।
टस जितेर पहिला ब्याटिङ गर्दै मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा नौ विकेट गुमाएर १२८ रनमात्र बनाउन सक्यो ।
दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३५ रन जोड्दा अक्षर पटेलले २६ रन बनाए । यस्तै पृथ्वी शाले २० तथा क्रिस मोरिसले ११ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रनको योगदान दिन सकेनन् ।
मुम्बईका राहुल चाहरले ३ तथा जसप्रित बुम्राहले २ विकेट लिए । यसअघि मुम्बईका लागि क्रुनाल पाण्ड्याले अविजित ३७ रन जोड्दा क्विन्टन डी ककले ३५ रन, हार्दिक पाण्ड्याले ३२, कप्तान रोहित शर्माले ३० र सूर्यकुमार यादवले २६ रन बनाएका थिए । दिल्लीका कागिसो राबडाले २ विकेट लिए ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेलाई भने हिजो पनि दिल्लीले मैदानमा उतारेको थिएन । दिल्लीलाई पराजित गरेसँगै मुम्बई लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
मुम्बईले ९ खेलबाट १२ अंक जोडेको छ । पराजित दिल्ली ९ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ । एजेन्सीको सहयोगमा