वैशाख ७, काठमाण्डौ । जुनसुकै शहरमा पनि सवारी साधन पार्किङस्थलको अति आवश्यक हुन्छ । काठमाण्डौ देशकै ठूलो सहर हो । तर यहाँ सवारी साधन चलाउनेलाई निकै सास्ती छ ।
विशेष गरी निजी सवारी साधन हुनेलाई कठिन छ । स्मार्ट सिटीको योजना सुनाइएको छ । सडक र सवारी अस्तव्यस्त हुँदा संघीय राजधानी काठमाण्डौ कुरुप बनेको छ ।
काठमाडौंका व्यस्त बजारमा सवारीसाधन पार्किङको समस्या दिन–प्रतिदिन बढिरहेको छ । जताततै अव्यवस्थित पार्किङले एकातिर शहर नै कुरुप बन्न पुगेको छ भने अर्कातिर व्यापारी एवम् पैदल यात्रीलाई समेत बाधा पुगेको देखिन्छ । काठमाडौको व्यस्त शहर होस या अन्य सडक खण्ड जताततै पार्किङको समस्या रहेको छ ।
बर्षाैदखि रहेको पाकिङको समस्याले गर्दा सवारी चालक समस्यामा परेका छन् । न्युरोड, महाबौद्ध, असन, इन्द्रचोक, भोटाहिटी, ठमेल, सुन्धाराजस्ता व्यस्त बजार र प्रमुख व्यावसायिक क्षेत्र हो तर यस क्षेत्रमा नै पार्किङको समस्या रहेको छ ।
राजधानीमा सवारीसाधनको संख्या दैनिक बढिरहेको छ । केही क्षेत्रमा सडक पनि फराकिलो भएको छ । तर, पार्किङ गर्ने ठाउँ भने पर्याप्त छैन । अझै विडम्बना के छ भने फराकिलो बनाइएको सडक नै पार्किङ बनेको छ ।
महानगरपालिकाले पार्किङका लागि उपयुक्त ठाउँको व्यवस्थापन गर्न नसक्दा सवारीधनी सडक किनारमै पार्किङ गर्न बाध्य छन् । पार्किङस्थलको अभावमा व्यवस्थापनको जिम्मा पाएको ट्राफिक प्रहरी पनि हैरान छ ।
काठमाडौंमा पार्किङ व्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकाको हो । तर काठमाडौमा बर्षाैदेखिको समस्या अझै पनि निचोडमा पुग्न सकेकोे छैन । पार्किङको व्यवस्था नहुँदा सवारी साधन भएकाहरु दुःख पाइरहेका छन् । तर महानगर भने जरिवाना तिराउनै व्यस्त छ ।
काठमाडौं उपत्यकामा सवारीसाधनको संख्या दिनदिनै बढिरहेको भए पनि सडक भने बढ्न सकेको छैन । उपत्यकाभर करिब १६ सय किलोमिटर सडक रहेको छ । यो सडकमा गुड्ने सवारीसाधनको संख्या भने १० लाखभन्दा बढि छ ।
सडक र सवारी व्यवस्थापन नहुँदा शहर अस्तव्यस्त भइरहेको छ । तर सरोकारवाला निकायले समाधानको प्रभावकारी उपाय खोज्न सकेको छैन ।